दमक /
भारतको बिरपारामा सोमबार सम्पन्न म्याराथनमा झापा दमक निवासी सुरज सिंह चौथो हुनुभएको छ ।
नेपालबाट प्रतिनिधित्व गर्नु भएका सिंहले प्रतिस्पर्धामा सहभागी चार हजार धावक मध्ये तीन हजार नौ सय ९६ जनालाई पछि पार्दै चौथो बन्नु भएको हो ।
लायन्स क्लब अफ बिरपारा आवाजले आयोजना गरेको सो म्याराथनमा नेपाल सहित अन्य देशबाट पनि धावकहरुको सहभागिता रहेको थियो ।
स्वतन्त्रता दिवसको अबसर पारेर आयोजना गरिएको म्याराथनको दुरि १२ किलोमीटर कायम गरिएको थियो ।
केही दिन अघि मात्र यो प्रतियोगितामा सहभागी हुनैकालागी सिंहले आफुसग आर्थिक अभाव भएको भनेर उज्यालो खबरसग बताउनु भएको थियो । उहाले भिडियो कुराकानीकै क्रममा यस्तो बताउनु भएको थियो ।
यसपछी उज्यालोमा समाचार प्रकाशन भए पछि लायन्स क्लब अफ दमक बिग बुद्धले उहालाई आर्थिक सहयोग गरेको थियो । नगद १५ हजार पाच सय रुपैया आर्थिक सहयोग प्राप्त गरेपछि सिंह सोही दिन बिरपारा प्रस्थान गर्नु भएको थियो ।