दमक/
तमोर नदीको लुमु घाटमा एउटा पुल निर्माणाधिन अवस्थामा छ । आठ पिलर रहने पुलमा हालसम्म चार पिलर उठाएर ढलान गरिए पनि चार पिलरको काम बाँकी छ । १ सय ५७ मिटर लम्बाइ र ३ मिटर चौडाइको उक्त पुलको काम तीन वर्षभित्रै सक्ने भनिए पनि निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि यसले पूणर्ता त के के तिहाई पनि सम्पन्न भएको छैन ।
अहिलेसम्म यो पुल निर्माणको काम आधा कामसमेत नसकिएको यहाँको निर्माणधिन पुलालाई नै हेर्दा प्रष्ट हुन्छ ।
पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका सिमाना छुट्याएर बग्ने तमोर नदीको लुमु घाटमा ११ वर्षअघि सुरु भएको पुल अझै सम्पन्न नभएको हो ।
ती दुई जिल्लालाई सडक सञ्जालले जोड्ने उक्त पुल बनाउन स्वच्छन्द निर्माण सेवा नामक ठेकेदार कम्पनीले २०६८ असार २६ मा सडक विभाग मातहतको पुल सेक्टरसँग १७ करोड निर्माण लागतमा सम्झौता गरेको थियो ।
यो पुल नबन्दा पाँचथर सदरमुकाम फिदिमदेखि यासोक हुँदै तेह्रथुम सदरमुकाम म्याङलुङ जोड्ने ४५ किलोमिटर सडकमा सवारी र ढुवानी साधन ओहोरदोहोर भइरहेको छैन । फिदिमदेखि लुमुघाट जोड्ने ४५ किलोमिटर र म्याङलुङदेखि लुमुघाट पुलसम्म १९ किलोमिटर सडक भने पाँच वर्ष अगाडि नै निर्माण सम्पन्न भएको थियो ।
उक्त सडकमा गाडी गुड्छ तर पुल नहुँदा ती साधन वारपार भने गर्न सक्दैन । मोटर साइकल र पदयात्री भने नजिकैको झोलुंगे पुलबाट आइजाइ गर्छन् । सम्झौता-पत्रमा ठेकेदार कम्पनीले २०७२ असार २५ भित्र पुल हस्तान्तरण गर्नुपर्ने उल्लेख थियो ।
ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रबन्ध निर्देशक जयराम लामिछाने २०७२ को भूकम्प, त्यसपछिको नाकाबन्दी, लकडाउन लगायतका कारणले काममा ढिलाइ भएको दाबी गर्छन् । यस्तै कारण देखाएर निवेदन पेस गरेकै आधारमा सरकारले निर्माण कम्पनीलाई सात पटक म्याद थपिसकेको छ । सडक विभागको पुल सेक्टरले भने निर्माण व्यवसायीले हरेक वर्ष वर्षा सुरु हुने बेलामा फिल्डमा आएर काम गरेझै गर्ने त्यसपछि भाग्ने गरेको जनाएको छ । ।