तेह्रथुममा फैलियो डेंगु, सातामै ६२ जना बिरामी

 

 

 

 

तेह्रथुम म्याङलुङ नगरपालिका–१ का निर्मल दाहाललाई एक्कासि ज्वरो आयो । तीन दिनसम्म त घरमै सिटामोल खाए ।

तर ज्वरो घट्नुको सट्टा झन् बढ्यो । जँचाउन जिल्ला अस्पताल पुगेका उनलाई डेंगु भएको पुष्टि भयो । उनकी श्रीमतीलाई पनि डेंगु पुष्टि भएको छ । अहिले दुवै जना जिल्ला अस्पतालको बेडमा उपचाररत छन् ।डेंगुको असर दिमागमा समेत पर्छ भनेर चिकित्सकले बताएपछि उनी निकै चिन्तामा छन् ।

‘पहाडमा डेंगु कसरी फैलियो, अचम्ममा छु,’ जिल्ला अस्पतालमा भेटिएका दाहालले भने । म्याङलुङ नगरपालिका–१० की ४५ वर्षीया रत्नमायाँ जिमी पनि नाबालाक नातीलाई डेंगु पुष्टि भएपछि अस्पतालको बेडमा बिरामी नातीको कुरुवा बसेकी छन् ।

ज्वरो आउने, बान्ता हुने, शरीर दुख्ने, रिँगटा चल्ने, पेट दुख्ने, आँखाका गेडी दुख्ने लगायतका स्वास्थ्य समस्या नातीमा देखिएपछि उपचारका लागि उनले नातीलाई अस्पताल भर्ना गराएको बताइन् ।

यो साता जिल्ला अस्पतालमा ज्वरो आएर जँचाउन आएका ६२ जनामा जाँच गर्दा सबैमा डेंगु पोजेटिभ देखिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रेरित देवकोटाले बताए । ‘पहाडी जिल्लामा एक सातामा यतिका धेरै डेंगुका बिरामी देखा पर्नु निकै चिन्ताको विषय हो,’ डाक्टर देवकोटाले भने,‘गर्मी र तराई क्षेत्रमा हुने यो रोग कसरी पहाडका गाउँ बस्तीसम्म नै उक्लियो ? अध्ययनको विषय भएको छ ।’

समुद्री सतहबाट १ हजार ६ सय मिटरको उचाइमा रहेको सदरमुकाम र आसपासका गाउँबस्तीमै डेंगु देखिन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ ।

अस्पतालमा डेंगुका बिरामीको संख्या दिन्दिनै बढेपछि स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसमेत आएर बिरामीको अवस्था बुझेर फर्किएका छन् । नियन्त्रणका उपायबारे अस्पतालका चिकित्सकसँग समेत मन्त्री खापुङले छलफल गरे । पहाडमा डेंगु सार्ने लामखुट्टेको संख्या र बासस्थान बढेको वा अन्तैबाट यातायातका साधनसँगै आइपुगेको हो भन्ने यकिन नभएको चिकित्सकको भनाइ छ ।

तराई–पहाड मान्छेको आवतजावतसँगै लामखुट्टे पनि विभिन्न सवारी साधन भएर आइपुगेको हुन सक्ने अनुमान चिकित्सकको छ । तराईबाट आएकाभन्दा पहाडमा घरमै बसिरहेकाहरुमा संक्रमण देखिएको डाक्टर देवकोटाको भनाइ छ । अस्पतालमा उपचारका लागि आउने गरेका अधिकांशमा डेंगुको लक्षण देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न नसकिए यो समस्या भयावह बन्न सक्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ । डेंगु फैलाउने लामखुट्टे मार्न विषादी छर्किने, झुल टाँगेर मात्र सुत्ने, चेतनामूलक कार्यक्रम गर्ने जस्ता कार्यक्रम तत्कालै सञ्चालन गर्नुपर्ने स्थानीयको भनाइ छ ।

Share: