तेह्रथुम — म्याङलुङ नगरपालिकाले २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल प्राधिकरणलाई तिरिदिने निर्णय गरेको छ । घरायसी प्रयोजनका लागि विद्युत् उपभोग गर्ने सबै नगरवासीको न्यूनतम महसुल नगरपालिकाले तिर्ने निर्णय गरिएको नगरप्रमुख सञ्जय तुम्बाहाङफेले बताए ।
उनका अनुसार न्यूनतम महसुलसमेत बुझाउन नसक्ने नागरिकलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको हो । नगर कार्यपालिकाको बैठकले गत साउन १ देखिकै उक्त विद्युत् महसुल तिर्ने निर्णय गरेको हो ।
मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुल नगरपालिकाले एकमुष्ट प्राधिकरणलाई भुक्तानी गर्ने विषयमा सम्झौता भइसकेको छ ।‘न्यूनतम २० युनिट बराबरको महसुल ३० रुपैयाँ नगरपालिकाले भुक्तानी गरिदिने हो,’ नगरप्रमुख तुम्बाहाङफेले भने, ‘त्योभन्दा माथि विद्युत् युनिट खपत गर्ने ग्राहकले भने बाँकी रकम आफैं बुझाउने हो ।
’ नगरपालिकाको यो निर्णयपछि न्यूनतम महसुलसमेत बुझाउन नसकेर लाइन काट्नुपर्ने अवस्थाको अन्त्य भएको विद्युत् प्राविधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख श्यामकुमार शर्माले बताए ।
उक्त नगरपालिकामा ४ हजार ५ सय विद्युत्का ग्राहक छन् । यी ग्राहकको न्यूनतम २० युनिटसम्मको महसुल १ लाख ३५ हजार रुपैयाँ नगरपालिकाले प्राधिकरणलाई बुझाउने छ । दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई यो निर्णयले ठूलो राहत पुगेको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले बताए ।
नगरपालिकाको यो निर्णयपछि विद्युत् प्राविधिकरणलाई समेत फाइदा पुगेको छ । समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न घरघरै पुग्नुपर्ने समस्या प्राधिकरणका कर्मचारीलाई थियो । अब यो झन्झट हटेको केन्द्रका प्रमुख शर्माको भनाइ छ ।
केन्द्रका कर्मचारीको समयसमेत बचेको छ । उपभोक्तालाई घण्टौं टाढाबाट हिँडेर महसुल बुझाउन आउनुपर्ने बाध्यताको समेत अन्त्य भएको नगरप्रमुख तुम्बाहाङफेको भनाइ छ । नगरपालिकाभित्रका सडक बत्तीको महसुलसमेत नगरपालिकाले भुक्तानी गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।