दमक/
चेलीमाइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतघर जाने, दुग्धजन्य परिकार खाने कार्यलाई तीजसँग जोडेर बुझ्ने गरिन्छ । खासगरि यो पर्व महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् ।
धर्मशास्त्रचार्य गुरु धनश्याम ढकालका अनुसार हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
तीजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ ।
विशेष गरी यो पर्वले व्रत-उपवास र उपासना-आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको कुरा बुझ्न सकिन्छ।
धर्मशास्त्रचार्य ढकालसँग उज्यालो खवरले तीजको धार्मिक, सामाजीक र बैज्ञानीक महत्वका बारेमा कुराकानी गरेको छ । हेरौ भिडियोमा