विराटनगरको नोबेल अस्पतालमा उपचाररत एक जना बिरामीले आज (बुधबार) बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन् ।
झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेलले अस्पतालको दोस्रो तलमा रहेको झ्यालबाट बिहान ७ः१० बजेतिर हामफालेको प्रहरीले जनाएको छ । एक्कासि हामफालेपछि भुइँमा बजारिएका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि नोबेलमै भर्ना गरिएको छ । टाउको, निधार लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
लुइँटेललाई उपचारका लागि गत भदौ १० गते अस्पताल भर्ना गरिएको थियो । मानसिक समस्याको उपचार गराइरहेका उनी परिवारका सदस्यसँगै रहेका बेला हामफालेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।