इलाम — पूर्वी पहाडी जिल्लावासीलाई सहज उपचारका लागि इलाममा मेडिकल कलेज सञ्चालनका लागि पहल थालिएको छ । इलाम नगरपालिकाको अगुवाइमा मेडिकल कलेज स्थापनाका लागि नगर प्रमुख केदार थापा नेतृत्वको टोली राजधानी पुगेर प्रधानमन्त्रीसहित चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित संस्थामा कार्यान्वयनका लागि आग्रह गरेको हो ।
डा. गोविन्द केसी २०७५ पुस २५ मा १६ औं पटक इलाममा अनसन बस्दा इलाम या पाँचथरमा मेडिकल कलेज खोल्ने सहमति भएको थियो । इलाम–९ घट्टिटारमा जग्गा व्यवस्थापन सुरु गरिएको छ । सदरमुकाममा रहेको अस्पताललाई ५० शय्याको बनाइए पनि त्यो अनुसारको सेवा सुविधा नहुँदा उपचारका लागि महँगो रकम खर्च गरेर अन्यत्र जानुपर्ने परिस्थिति छ । आवश्यक जनशक्तिको अभावमा अस्पतालले क्षमताअनुसारको सेवा दिन सकेको छैन ।
प्रस्तावित मेडिकल कलेजका लागि नगरपालिकाको स्वामित्वमा रहेको हालको अस्पताल क्षेत्रमा ३२ रोपनी जमिन, सोही परिसरको जिल्ला समन्व समितिको २ तले पक्की भवनसहित ८ रोपनी कलेजका लागि उपयोग गर्न सकिने नगरपालिकाको भनाइ छ । घट्टिटारस्थित ८ सय २० रोपनी खाली जग्गासहित विभिन्न व्यक्तिलाई मुआब्जा दिएर लिन सकिने नगरपालिकाको भनाइ छ । आवश्यक कूल जमिन १ हजार ४ सय ३० रोपनीको व्यवस्था गर्न सकिने भन्दै जग्गा व्यवस्थापन र अर्थ संकलनका लागि समिति नै बनाएर काम अघि बढाइएको छ ।
समितिले जग्गा व्ववस्थापनका लागि २५ लाख रुपैयाँ संकलन गरिसकेको छ । त्यस्तै राजधानीमा पहल गर्न पनि समिति गठन गरिएको छ । विस्तृत परियोजना प्रस्ताव तयार गर्नका लागि केन्द्र र प्रदेशको सम्बन्धित मन्त्रालयमा नगरपालिकाले अनुरोध गरेको छ । ‘सबै क्षेत्रको साथ र सहयोगको अपेक्षामा छौं,’ वडा ७ का वडाध्यक्ष नरेश श्रेष्ठले भने । इलामको हावापानी राम्रो भएकाले हिमालदेखि तराईसम्मबाट यहाँ आएर अध्ययन र सेवा गर्न सहज हुने तर्क डा. केसीको पनि छ । यहाँ अस्पताल सञ्चालन भए पूर्वी पहाडी जिल्लाका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्नेछ । त्यस्तै यहाँको सन्तुलित हावापानीका कारण टाढाबाट पनि उपचारका लागि आउनेलाई सहज हुनेछ । मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३ सय शय्या आवश्यक हुन्छ ।