मोरङको उर्लाबारीमा रहेको सुधार केन्द्रबाट १३ जना दुर्व्यसनी फरार

 

 

 

मोरङको उर्लाबारीमा रहेको एउटा सुधार केन्द्रबाट एकैपटक १३ जना दुर्व्यसनी फरार भएका छन् ।

उर्लाबारी नगरपालिका–७ स्थित जीवन बचाउ उपचार सेवा गृहबाट शनिबार साँझ लागुऔषधका दुर्व्यसनीहरु भागेका हुन् । दुर्व्यसनमा फसेका लागुऔषधका सेवनकर्ता ३२ जनालाई सुधार केन्द्रमा उपचार तथा सुधारका लागि राखिएको थियो । तीमध्ये १३ जना साँझ ६ः४५ बजेतिर भागेको केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार खाना वितरणको तयारी हुँदै गर्दा केन्द्रमा खटिएका तीन जना सुरक्षागार्डलाई धम्क्याउँदै डर देखाएर एकैपटक ठूलो सङ्ख्यामा दुर्व्यसनीहरु फरार बनेका हुन् । पूर्वयोजनाअनुसार नै समूह बनाएर तथा केन्द्रको ताला फोडेर उनीहरु फरार बनेको उनले बताए ।

शब्जी काट्ने चक्कु, डाडु, पन्यू र दाउराले हान्न खोजेर तथा ढुङ्गासमेत प्रहार गरेर एवम् केन्द्रको ताला फोडेर सुरक्षागार्डलाई डर देखाउँदै दुर्व्यसनी फरार भएको दाहालको दाबी छ । उनका अनुसार झापा, मोरङ र सुनसरीसहित विभिन्न स्थानका सेवनकर्तालाई सुधार केन्द्रमा राखिएको थियो ।

भागेकाहरु सबै जना परिवारको सम्पर्कमा पुगेको र मोटरसाइकल, स्कुटर लगायतका सवारीसाधन लिएर घरबाट पनि फरार भएको पाइएको दाहालको भनाइ छ । उनका अनुसार प्रहरीसँग समन्वय गरेर फरार भएकाको खोजी जारी राखिएको छ । दुर्व्यसनी फरार भएको दृष्य सीसी टिभीमा कैद भएको र उक्त फुटेज प्रहरीलाई उपलब्ध गराइसकिएको उनले बताए ।

एकैपटक ठूलो सङ्ख्यामा दुर्व्यसनी फरार बनेपछि सुधार केन्द्रको सुरक्षा व्यवस्था फितलो रहेको पुष्टि भएको छ । सुधार केन्द्रभित्र दिइने यातना सहन नसकेर उनीहरु फरार भएको हुनसक्ने आशङ्का आफन्त एवम् परिवारका सदस्यले गरेका छन् । सुधार एवम् उपचार गर्नुपर्नेमा दुर्व्यसनीलाई दिइने यातना तथा त्यहाँ राखिएकाको मृत्युको विषयलाई लिएर उक्त सुधार केन्द्र पटकपटक विवादमा मुछिने गरेको छ ।

इन्चार्ज दाहालले केन्द्रमा राखिएकालाई यातना दिने र कुटपिट गर्ने गरिएको कुरा गलत भएको बताए । सबै गतिविधि सीसी क्यामेरामा कैद हुने भएकाले केन्द्रभित्र कुनै पनि गलत काम नहुने उनको भनाइ छ ।

 

Share: