मोरङको रङ्गेलीमा रहेको एउटा माछा पोखरीमा बुधबार साँझ वृद्धा महिलाको शव भेटिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार रङ्गेली नगरपालिका–१ की ७६ वर्षीया कृष्णमाया बस्नेतको शव घरदेखि लगभग ५ सय मिटर उत्तरमा रहेको पोखरीमा फेला परेको हो । घरबाट बुधबार बिहान ९ बजेतिर हिँडेकी वृद्धाको खोजी गर्ने क्रममा रङ्गेली–१ स्थित पोखरीमा शव भेटिएको श्रेष्ठले बताए ।
आफन्त र परिवारका सदस्यले खोजी गर्ने क्रममा शव भेटेपछि प्रहरीलाई घटनाको जानकारी दिएका हुन् । डिएसपी श्रेष्ठका अनुसार शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।