प्रदेश १ सरकारका पछिल्ला दुई वटा बजेटमा उल्लेख भएको ‘विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन दिने’ योजना बल्ल कार्यान्वयनमा जाने भएको छ।
दुर्गम पहाडी जिल्लामा विशेषज्ञ चिकित्सकहरु जान नखोज्ने अवस्था अन्त्य गर्न भन्दै प्रदेश सरकारले दुई वटा आर्थिक वर्षको बजेटमा चिकित्सकलाई प्रोत्साहन भत्ताको प्रबन्ध गर्ने भनेको थियो। तर, निजामति कर्मचारीहरुको असयोगको कारण देखाएर दुई वर्षदेखि कार्यविधि बनेको थिएन।
कार्यविधि नबनेकै कारण बजेटमा घोषणा भएको कार्यक्रमबाट लाभ लिन चिकित्सकहरु वञ्चित थिए। यो घोषणा कार्यान्वयन गर्न अब कार्यविधि बनेको र तत्कालै कार्यान्वयनमा जाने प्रदेश स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिएका छन्।
सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर कार्यान्वयनमा लगेको मन्त्री यादवले जानकारी दिए।
विशेषज्ञ चिकित्सकहरुलाई प्रदेश सरकारले मासिक १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने कार्यविधि बनाएको छ।
‘पहाडी जिल्लामा विशेषज्ञ चिकित्सकको अभाव सधैं छ’, उनले भने ‘यो अवस्था अन्त्य गर्नका लागि कार्यक्रम अघि सारिएको हो।’
प्रदेशका पहाडी तथा दुर्गम जिल्ला जाने चिकित्सकलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिइने कार्यविधिमा उल्लेख छ।
संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ तेह्रथुम र पाँचथरका जिल्ला अस्पतालमा काम गर्ने चिकित्सकलाई समान प्रोत्साहन भत्ता दिइने कार्यविधिमा उल्लेख छ।
ती अस्पतालमा काम गर्ने एघारौं तहका चिकित्सकलाई मासिक १ लाख ५० हजार, नवौं र दशौं तहका चिकित्सकलाई १ लाख ३५ हजार र आठौं तहका चिकित्सकलाई १ लाख २० हजार रुपैयाँ दिइने उल्लेख छ।
पहाडी जिल्लाका चिकित्सकको भत्ता बढाएको सरकारले धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने चिकित्सकको प्रोत्सान भत्ता घटाएको छ।
ती जिल्लाका अस्पतालमा खटिने एघारौं तहका चिकित्सकलाई ७५ हजार, नवौं र दशौं तहका चिकित्सकलाई ६८ हजार र आठौं तहका चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता दिइने कार्यविधिमा उल्लेख छ।