धनकुटा — स्थानीय बजारमा मात्र सिमित सरिफा फल यस वर्षदेखि काठमाडौंलगायतका बजारमा समेत निकासी हुन थालेको छ । विगतमा जंगलमा मात्र सिमित सरिफालाई स्थानीयले व्यावसायिक उत्पादन थालेकाले यो सम्भव भएको हो ।
भदौदेखि स्थानीय बजारमा निस्किएको उक्त फलको व्यापार असोज मध्यसम्म आइपुग्दा करिब ५ लाख बढीको कारोबार हुने स्थानीय व्यापारी बताउँछन् । यस्तै स्थानीय कृषकसँग प्रतिकिलो ७० रुपैयाँमा खरिद गरी काठमाडौं, विराटनगर, लगायतका स्थानमा यहाँको सरिफा निकासी हुने व्यापारी जितेन्द्र राईले बताए ।
उनी एक्लैले एक महिनाको अवधिमा ७ लाखको निकासी गरेका छन् । स्थानीय उत्पादकबाट खरिद गरेर जिल्ला बाहिर निकासी गर्ने अन्य कम्तिमा ६ व्यापारी रहेको राईले बताए । दसैंमा काठमाडौंबाट फर्कनेको संख्या अधिक भए पनि जाने यात्रु नगण्य भएकाले ती सवारीसाधनमा समेत दैनिक सरिफा र एभोकाडो बाहिरिने गरेको यातायात व्यवसायी यादव अधिकारी बताउँछन् ।
धनकुटा नगरपालिका–८ सान्ताङ, तेत्रेदाङ, याक्ते क्षेत्रमा स्थानीयले यसको व्यावसायिक उत्पादन गर्दैछन् । ती स्थानमा खरिदका लागि व्यापारी गाडी लिएर बोटैमा पुग्ने गरेको तेत्रेदाङका कृषक जिद्धबहादुर आठपहरियाले बताए ।
यो पूर्णरूपमा अर्ग्यानिक फल मानिएकोले बजारमा यसको माग बढी हुने गरेको स्थानीयको दाबी छ । जंगलबाट बिरुवा ल्याएर ६ रोपनी क्षेत्रफलमा व्यावसायिक उत्पादन गर्दै आएका आठपहरियाले बेचेरै मासिक ५० हजार रुपैयाँ कमाइ गरेको बताए ।
खासगरी बेंसी क्षेत्रका जंगलमा भदौदेखि दुई महिना सरिफा फल्ने गरेको स्थानीय देवकुमारी आठपहरियाले बताइन् । बोटमा नपाक्ने र काँचै टिपेर ओइलाए पछि पाक्ने उक्त फल गाई बाख्रा एवं वन्यजन्तुबाट पनि सुरक्षित रहने स्थानीय तीर्थ राईले बताए ।