झापा । झापाको दमकस्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा बस्दै आएका एकजना शरणार्थीको हत्या गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
असोज पाँच गते भुटानी शरणार्थी एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुलाई पक्राउ गरेको हो । बुधवार अपरान्ह खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा गुरुङमाथि खुकुरी प्रहार भएको थियो । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।
घटनास्थल पुगेका प्रहरीले घाइते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा बुधबार साँझ नै उपचारको क्रममा मृत्यु भएको हो ।
आपराधिक पृष्ठभूमिका गुरुङले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरू मिलेर कुटपिट गर्दा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले पक्राउ गरेकाहरूको नाम सार्वजनिक गरिसकेको छैन ।