दमक/
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ( सहारा साकोस ) ले सामाजिक सुरक्षा सुबिधाहरुमा करिब १ करोड भत्ता बितरण गरेको छ ।
पुर्बमा ६ जिल्लाका बिभिन्न आफ्ना शाखाहरुमा शनिबार एकैदिन छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर उक्त रकम बितरण गरेको हो ।
नजिकिदै गरेको दशैंलाई लक्षित गरेर १ हजार ५४ जनालाई बिभिन्न सुबिधा अन्तर्गत रकम हस्तान्तरण गरिएको सहाराका अध्यक्ष हरि बहादुर राजबंशीले जानकारी दिए । आफ्ना शेयर सदस्यहरुलाई एकल महिला प्रोत्साहन, ज्येष्ठ महिला पोषण, ज्येष्ठ नागरिक सदस्य, बृद्ध सदस्य सम्मान, एकल महिला सम्मान, अशक्त अपांग, दिर्घायु सदस्य सम्मान र परिवार राहत शीर्षकमा ९५ लाख ९० हजार रकम बितरण गरिएको अध्यक्ष राजबंशीले प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसै क्रममा सहाराको दमक सेवा केन्द्रले शनिबार एक कार्यक्रम आयोजना गरि ४४ जना शेयर सदस्यहरुलाई भत्ता बितरण गरेको छ । यहाँ आयोजित कार्यक्रममा दमक, उर्लाबारी, मंगलबारे, पथरी र मधुमल्लामा सदस्यहरुलाई भत्ता बितरण गरियो । सेवा केन्द्रका संयोजक केपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले भत्ता रकम बितरण गरिन् । उपमेयर प्रसाईले सहाराले महिलाहरुलाई दिएको सेवा, सुबिधाको प्रशंसा गर्दै नगरपालिका र सहारा आगामी दिनमा सहकार्य गरेर काम गर्ने आश्वासन पनि दिइन् । केन्द्रका ब्यवस्थापक डम्बर प्रधानद्धारा संचालित कार्यक्रममा सहाराकी केन्द्रीय उपाध्यक्ष पबित्रा सुब्बा लगायतले बोलेका थिए । संस्थाका सदस्य कृष्ण कार्कीद्धारा बित्तिय बिबरण प्रस्तुत गरिएको कार्यक्रममा स्वागत मन्तब्य अनिता नेपाली, महेश तामाङले संस्थाका कार्यक्रमबारे जानकारी दिएका थिए ।
नेपालमै उत्कृष्ठ कारोबार गर्दैै आएको सहाराले झापा, मोरङ, सुनसरीसहित ६ जिल्लामा रहेका ८२ वटा शाखामार्फत आर्थिक कारोबार गरिरहेको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्र गिरीले भदौ मसान्तसम्मको बित्तिय बिबरण सार्वजनिक गर्दै अहिलेको अवस्थामा सहारा साकोस सहज अवस्थामा ब्यापार बढाईरहेको तथ्यांक प्रस्तुत गरेका छन् । अहिलेको तरलताको समस्या जटिल बनेर धेरै सहकारीहरु धरासायी भइरहेको बेला पनि सहाराको बित्तिय बिबरण उत्साहजनक देखिन्छ । प्रमुख कार्यकारी गिरीले भदौ मसान्तसम्म सहाराको तरलता १ अर्व ६३ करोड ११ लाख भन्दा बढी रहेको जानकारी दिएका छन् ।
१ अर्व ६३ लाख शेयर पुजी भएको सहारामा तरलता नै शेयर पुजी बराबर हुनु अत्यन्तै राम्रो देखिन्छ । त्यसैगरी भदौ मसान्तसम्म ९ अर्व ९६ लाख बचत संकलन गरी १२ अर्व ८४ करोडबढी ऋण लगानी गरेको छ । १५ अर्व ४८ करोडबढी कुल सम्पति भएको सहाराको बिभिन्न कोषहरुमा झण्डै २ अर्व रकम रहेको छ ।