बिर्तामोड
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताउनु भएको छ । आज झापाको बिर्तामोडमा ओलीले नै आयोजना गर्नु भएको बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले यस्तो बताउनु भएको हो । उहाँले सो अवसरमा सबै राजनैतिक दलहरुलाई स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन पनि आग्रह गर्नु भयो ।
’हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो’, उहाँले भन्नु, ’प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।’ ओलीले सुभकामना मन्तव्य राख्दै बताउनु भयो ।
उहाँले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा पनि राख्नु भयो ।
दशैको महत्वका बारेमा बताउँदै ओली
ओलीले शुभकामना मन्तव्यका क्रममा दसैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको उल्लेख गर्नु भयो ।
ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं, नेकपा माओवादीका युवा नेता रञ्जीत तामाङ जो ओलीसँगै उहाँको निर्वाचन क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ ।
यसै गरि कार्यक्रममा जनता समाजवादी पार्टी झापा अध्यक्ष दीपेनबाला राईलगायत विभिन्न राजनीतिक पार्टीका नेता, एमालेका नेता, उद्योगी, व्यवसायी र पेसाकर्मीहरूको उपस्थिति रहेको थियो ।
२०५१ सालदेखि बडादशैंको नवमीको दिन अध्यक्ष ओलीले गृह जिल्ला झापामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आउनु भएको छ ।
ओलीले दशैको अवसरमा मंगलबार बिर्तामोडमा आयोजीत सुभकामना आदान प्रदान कार्यक्रममा राखेको मन्तव्यको अंस यहाँ राखीएको छ ।