"दुर्घटना"

झापामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

 

 

झापाको घैलाडुब्बा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी दुई दिनमा दुईजनाको मृत्यु भएको छ । शुक्रबार राती ९:४५ बजे कनकाई ९ स्थित घैलाडुब्बा–राजगढ भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४० प ७६४० नं.को मोटरसाइकल आफै अनियन्त्रित भई नालामा छिरी दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी सप्तकोसी नगरपालिका –९ फत्तेपुर बस्ने अन्दाजी वर्ष ४० का केशव गौतमको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गौतम र पछाडि सवार उनका छोरा अन्दाजी वर्ष १२ का सङ्केत गौतम घाइते भएकोमा बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति १०:३० बजे बाबु केशव गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।त्यस्तै बिहीबार दिउँसो १ बजे बाह्रदशी गाउँपालिका ७ लखरीगद्धीस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको १५० सिसीको अनटेष्ट पल्सर मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी तत्काल नाम, थर, वतन नखुलेको मागी खाई हिँड्ने वर्ष अन्दाजी ६० की वृद्धालाई ठक्कर दिएको थियो ।

ठक्करबाट वृद्धाको हात, खुट्टा र मुखमा चोट लागेको थियो भने मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय कुशल मुर्मूसमेत घाइते भएका थिए । दुवै घाइतेलाई बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएको थियो । घाइते वृद्धालाई थप उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा राति ७:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Share: