इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिष्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका छन् । विगत वर्षमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आएका उनीहरू यसपटक फरक–फरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनीहरूसँगै इलाममा प्रतिनिधि सभामा २५ र प्रदेश सभामा २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालको इलाम क्षेत्र नं १ मा ३ स्वतन्त्रसहित प्रतिनिधि सभामा ११ जनाले उम्मेदवारी दिएका हुन् । प्रदेश सभातर्फ इलाम क्षेत्र नं १ को (क) मा ८ जना र इलाम क्षेत्र नं १ को (ख) मा ६ जनाले उम्मेदवारी दिएका छन् । खनालसँग प्रतिस्पर्धाका लागि नेकपा (एमाले)का तर्फबाट एमाले इलामका अध्यक्ष महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वसभामुख नेम्वाङले जित्दै आएको इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ इलाम क्षेत्र नं २ को (क) मा ८ जना र इलाम क्षेत्र नं २ को (ख) मा १ स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी दिएका छन् । नेम्वाङ आफैँ आएर मनोनयन गरेका थिए भने खनालका तर्फबाट उनकै पार्टीका प्रतिनिधिबाट मनोनयन दर्ता गरिएको थियो ।
नेम्वाङसँग प्रतिस्पर्धाका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको इलाममा २ लाख २४ हजार ७७८ मतदाता रहेका छन् ।
इलाममा यस पटकको चुनाव निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । ठूला नेतासँग जिल्ला अध्यक्षको प्रतिष्पर्धा निकै कडा हुने अनुमान लगाउन सकिन्छ । पूर्वप्रधानमन्त्री खनालले पार्टी नै परिवर्तन गरेर कांग्रेससँगको सहकार्यमा मत लिनुपर्ने हुन्छ । उता नेम्वाङका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति पनि समाजसेवी र जिल्लाकै लोकप्रिय नेताका रुपमा परिचित छन् ।