सोलुखुम्बु : सोलुखुम्बु भ्रमणमा आएका एक विदेशी पर्यटक अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट घाइते भएका छन्। घाइते हुनेमा अमेरिकी नागरिक २५ वर्षीया महिला क्याथृङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार असोज २७ गते बिहिबार सोलुदुधकुण्ड नगरपालिका- २ स्थित सलुङ जङ्गलमा हिँड्दै गर्दा क्याथृङलाई एक अपरिचित पुरुषले टाउकोमा ढुङ्गा प्रहार गरि घाइते बनाएका हुन्। प्रहरीका अनुसार सुरुमा ति पुरुषले विदेशीसँग डलर मागेको तर विदेशी महिलाले रकम दिन इन्कार गर्दा एक्कासी टाउकोमा ढुङ्गा प्रहार गरी भागेका थिए। ढुङा प्रहारबाट विदेशी महिलाको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा ७ टाका लगाइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ। एक्लै सोलु भ्रमण आएका अमेरिकी नागरिक उपचारपश्चात् काठमाडौं फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ।
घटनापश्चात प्रहरी चौकी बेनीबाट खटिएका प्रहरी टोलीले ३५ वर्षीय दावा जाङ्बु शेर्पालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। पक्राउ परेका शेर्पा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हिरासतमा रहेका छन्।