प्रहरीलाई आधुनिक प्रविधिमैत्री बनाउन काम गरिरहेका छौँ : प्रदेश कानुनमन्त्री कार्की

 

 

विराटनगर प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री बनाउन प्रदेश सरकारले प्रशस्तै काम गरिरहेको बताएका छन् ।‌

 

६७ औँ प्रहरी दिवसको सन्दर्भमा प्रदेश १ प्रहरीले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्कीले प्रहरीलाई भौतिक पूर्वाधार र प्रविधियुक्त बनाए मात्र उसले नागरिकलाई व्यवस्थित सुरक्षा प्रदान गर्न सक्ने बताए । उनले शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति गराउने प्रहरीलाई सेवा सुविधा दिन नसके समग्र सुरक्षा व्यवस्था गर्न नसकिने बताए ।

 

मन्त्री कार्कीले प्रहरी नागरिकको दुखको साथी भएको बताए । भने, “रातदिन नागरिक सुरक्षामा खटिने प्रहरी गस्ती गरेर आए आराम गर्ने चौकीको अभाव छ । यातायात साधनको अभाव छ । अरु धेरै समस्या छन् । प्रदेश सरकारले थोरै भए पनि संरचना निर्माणमा काम गरिरहेको छ ।”

प्रहरीप्रतिको दृष्टिकोण सकारात्मक बनाउनु पर्ने मन्त्री कार्कीको भनाइ छ ।‌

 

यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले अहिलको आवश्यकता सक्षम र सबल प्रहरी भएको बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नागरिक मैत्री प्रहरी अहिलेको आवश्यकता भएको बताए ।

 

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले उत्कृष्ट काम गर्ने प्रहरी, कर्मचारी र दिवंगत प्रहरीका परिवारलाई सम्मान गरेका थिए ।

 

Share: