दमक /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहक्षेत्र झापा क्षेत्र नं. ५ मा प्रदेश सभाका सदस्यहरु ग्रामिण क्षेत्रमा केन्द्रित भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधीसभा तर्फ अध्यक्ष ओलीको उम्मेद्वारी रहेको यस क्षेत्रमा एमालेले प्रदेश सभाका लागि क्षेत्र क मा स्थाई कमिटी सदस्य हिक्मत कार्की र क्षेत्र ख मा प्रदेश सभा सदस्य होमबहादुर थापालाई उम्मेद्वार बनाएको छ ।
यसै क्रममा मंगलबार क्षेत्र ख का उम्मेद्वार थापाले दमकको वडा नं. २ का मतदाताहरुसँग भेट गर्नु भएको छ । त्यस क्रममा उहाँले आफु यस भुगोलको अवस्था र आवश्यकतासँग जानकार भएकाले जनअपेक्षा अनुसारका योजनाहरु कार्यान्वयन गर्ने लक्ष्य सहित प्रदेश सभामा जान तयार भएको बताउनुभयो ।
तीनै तहका सरकारमा एमालेको नेतृत्व भएका बेला दमकमा वृहत योजनाहरु शुरु भएको र ति मध्ये अधुरा रहेका योजनाहरु पूरा गर्न फेरि पनि एमालेकै नेतृत्व जरुरी रहेको बताउनु भयो ।
उम्मेद्वार थापा सहितको टोलीले यस अघि दमककै विभिन्न वडा एवम् कमल गाउँपालिकाकाका विभिन्न बस्तिमा पुगेर भेटघाट गरेको एमाले क्षेत्रीय प्रचार समितिका संयोजक अम्बिका प्रसाद खनालले जानकारी दिनु भएको छ । प्रदेशका उम्मेद्वारहरुसँगै पार्टीका तर्फबाट समानुपातिक सुचीका रहेका उम्मेद्वारहरु समेत जनताको घरदैलोमा पुगि रहेका छन् । झापा क्षेत्र नं. ५ का रहेका प्रदेश सभाका प्रत्यक्ष तर्फका उम्मेद्वारहरुसँगै समानुपातिक तर्फका उम्मेद्वार नर्वदादेवी पाठक, निरमायाँ पुलामी, प्रदेश तर्फका उम्मेद्वार नम्बरलाल धिमालले पनि नागरिकसँगको भेटघाट बढाएका छन् ।