दमक/
आफ्नै देशमा केहि पनि अवसर नदेखेर वा नभेटेर कामका लागि परदेशिने यूवाको जमात घटेकै छैन ।सर्वेक्षण गर्ने हो भने हरेक घरबाट कोहि न कोहि सदस्य रोजगारका लागि कुनै न न कुनै मुलुक पुगेका छन् । काम खोज्दै परदेशिनेको त्यत्रो ठुलो सपना पनि हुँदैन । सिमित आवश्यकता पुरा गर्न देशका नवौजवान यूवाहरु हरेक दिन हातमा हरियो पासपोर्ट बोकेर परदेशिने गरेका छन् ।
घरको दैनिक खर्च टार्न, छोराछोरीलाई भनेजस्तै पढाउन र एउटा घर बनाएर आनन्दले बस्न । परदेश जाने तयारी गरिरहेका यूवाहरुलाई तपाई केकालागि विदेश जाँन लाग्नु भएको भनेर प्रश्न सोध्यो भने आउने साझा जवाफ हो यो ।
झापाको हल्दिबारी गाउँपालिकाका सोमनाथ ढकालको सपना पनि यस्तै थियो । यहि सपना पुरा गर्न उहाँ सन् २००६ सालमा साउदि अरब जानु भयो । त्यहाँ करिब ३ वर्ष काम गर्नु भयो । त्यसपछि स्वेदश फर्कनु भयो । झण्डै ३ वर्षनै घरमा यत्तीकै बस्नु भयो । झण्डै ३ वर्षको साउदी अरवको कमाईले उहाँले खास प्रगती गर्न सक्नु भएन । जम्मा विवाह खर्च टार्यो ।
नेपालमा बसेको त्यो अवधिमा उहाँको उपलब्धी भनेको त्यहि विवाह नै भयो । विवाह गरेर उहाँ फेरि रोजगारका लागि मलेसिया जानु भयो । सन् २०१२ मा माथी उल्लेखीत सपना पुरा नभएपछि फेरि परदेशिनुको विकल्पनै भएन । उहाँको मलेसिया बसाई भने स।ाउदीको जस्तो छोटो अवधिमो भएन । करिव ९ वर्ष उहाँले मलेसियामा श्रम गर्नुभएको छ । आफ्नो यौवन उमेरको सबै शक्ति मलेसियालाई सिञ्चत गर्नु भयो । मलेसियाको कमाईले चाहि उहाँको जीवनमा केहि परिवर्तन ल्याएको विस्वास र दावी उहाँको छ । किनकी उहाँले अहिले बेग्लै घर बनाउनु भएको छ । केहि ठाउँमा घडेरीपनि जोड्नु भएको छ । यसलाई उहाँले मलेसियाको उपलब्धी भएको ठान्नु भयो ।
झण्डै ३ वर्ष साउदी अरव र ९ वर्ष मलेसियाको काम र कमाईले उहाँले घर -घडेरी त जोड्नु भयो । तर यत्तीका समय परदेश बसेर नेपाल आउँदा पनि यहाँ भने कुनै अवसर देख्नु नै भएन । फेरि पनि उहाँ बैदेशिक रोजगारको योजना बनाइरहनु भएको छ । खाडी र मलेसियाको दशक अनुभव गर्नु भएका उहाँ अव भने यूरोपको कुनै देश जाने योजनाका साथ प्रकृया पनि अघि बढाइसक्नु भएको छ । मलेसियाबाट फर्कदा अव चाहि नेपालमै केहि गर्छु भन्ने सोचका साथ फर्कनु भएको थियो । तर त्यो सोच अनुसार नेपालमा भने कुनै सम्भावना देख्नु भएन । कुनै ब्यापार व्यवसायमा लगानी गरेर नेपामलै ‘सेटल’ हुने सपना उहाँको पुरा हुन सकेन । त्यसपछि देख्न थालीयो यूरोपका देशको सपना ।
उहाँको बुझाईमा अहिले कोरोनाका कारण स्वेदशमा लगानी गरेर ‘सेटल’ हुने अवस्था नभएपनि अन्यबेलामै पनि यहाँको राजनैतिक अस्थिरता र छिन छिनमै फेरिने सरकारी नितिले स्वदेशमै काम गर्ने वातावरण नै बनेन । त्यसैले यी समस्याको समाधान भयो र राजनितीले स्थाइत्व साथै स्थिर सरकार बनेर समयानुकल परदेशबाट फर्केकाका लागि यहि प्रयोग गर्ने गरिको रणनिती बने काम गर्न सकिन्छ भन्ने उहाँले अनुभव गर्नु भएको छ ।
उहाँको अहिले सबै अचल सम्पती सहित जोड्ने हो भने ७० देखि ८० ला बराबरको छ । तर त्यो लगानी घर र घडेरीमै सिमित छ । सोमनाथको यो कमाई उहाँको एकल मात्र पनि होईन । साउदि अरवबाट फर्केपछि विवाह गर्नु भएकी श्रीमती पुष्पालाई पनि उहाँले सँघै लिएर मलेसिया जानुभयो । श्रीमती पुष्पाले पनि ४ वर्ष मलेसियामा श्रम गर्नु भयो । मलेसियाको कमाईले श्रीमानको सपना पुरा गर्नेमात्र होईन । उहाँको पनि बेग्लै सपना थियो । तर उहाँले पारीवारिक कारणले गर्दा आफ्नो सपनालाई तिलाञ्जली दिन पर्यो र घरको गृहणीमै चित्त बुझाएर बस्नु परेको छ ।
सोमनाथ र पुष्पाको जस्तै कहानी छ झापा दमक निवासी सोमराज ओलीको पनि । २४ वर्षको उमेरमा खाडी मलुक काम गर्न जानु भएको थियो । साउदी अरवमा उहाँले ६ वर्ष बिताउनु भयो । त्यसपछि फर्कनु भयो । एक डेढ वर्ष घर बसेर फेरि उहाँ कतार जानु भयो । कतारमा पनि २ वर्ष काम गर्नुभयो । त्यसपछि नेपाल फर्कनु भयो । अहिले उहाँको उमेर ३८ वर्ष पुगेको छ । सबैभन्दा बढि उत्पादनमुलक उमेर उहाँले खाडीका देशमा काम गर्दैमा बिताउनु भयो । यो अवधीमा उहाँले केहि न केहि कमाई पनि ल्याउनु भयो ।
विदेशमा काम गरेको अनुभव पनि उहाँसँग छ । तर न त्यो कमाईले उहाँलाई नेपालमै स्वरोजगार बनाउन सक्यो । नअनुभवले कसैले काम नै दिए । त्यसैले फेरि पनि उहाँ कामकै लागी भनेर रोमनियाको प्रयास गरिरहनु भएको छ । उहाँको बुझा छ कि नेपालमा कमाएको मासिक ५० हजार भन्दा बिदेशमा कमाएको ४० हजार नै ठुलो । किनकी विदेशमा एकमुष्ट हातमा रकम पर्छ । तर नेपालमा त्यस अनुरुप कमाई पनि हुँदैन ।
पैसा हात पर्ने वित्तिकै खर्च पनि सुरु भै हाल्छ । त्यसैले बचत गर्न नेपालको कमाईले नसकिने उहाँको बझाई छ । त्यहि बचत बढाउनका लागि र परिवरको सुखद भविष्यका लागि रोमनिया जाने सपनाका साथ उहाँले केहि अग्रीम रकम र राहदानी पनि मेनपावरमा बुझाईसक्नु भएको छ ।
सामान्य दैनिकी सञ्चालन गर्न पनि परदेशकै भर पर्नुपरेको छ । यी दुवै परिवारले आफ्ना दैनिकी सहज रुपमा पुरा गर्न नसकेपछि फेरि पनि परदेशीने योजना बनाएका छन् । एकपटक वैदेशिक रोजगारीमा गएर फर्केको व्यक्तिलाई नेपालमा नै रोजगारी, स्वरोजगार वा उद्यमसँग जोड्ने वातावरण केन्द्र, प्रदेश वा स्थानीय सरकारले गरेको देखिन्न । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार यसरी विदेशमा सीप सिकेर फर्केकाहरुको लगत राख्ने, उनीहरुलाई स्वदेशको उद्यमसँग जोड्ने दायित्व स्थानीय सरकारको हो ।
विप्रेषणमा आश्रित अर्थव्यवस्था चलाइरहेको नेपाल सरकारले पनि वैदेशिक रोजगारबाट केहि पुँजी र सीप सिकेर अनी काम गर्छु भन्ने जाँगेर बोकेर फर्केकाहरुलाई स्वदेशमा नै टिकाउने उपाय खोज्नु पर्ने हो । तर त्यस्तो नीति बन्न नसक्दा मलेसिया र खाडी गएर बर्षौं दुःख गरेर कमाएको रकम यूरोप जानका लागि लगानी हुन थालेको छ । रोजगारीका लागि दौडिने एउटा युवा सपनाको पछि दौडिदा दौडिंदै रित्तै हात हुने यो अवस्था अन्त्यका लागि तीनवटै तहका सरकारले त सोच्नै पर्दछ, स्वयं स्वदेश फर्केका युवाहरु पनि यसमा चनाखो हुन जरुरी छ ।