झापा– कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा दुई हजार छ सय ३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्यांक छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ३७ वर्षदेखि सुपारी खेती गर्दै आएका राजेन्द्र मिश्रले धानखेतीको तुलनामा सुपारी खेतीबाट दश गुणा बढी आम्दानी हुने बताए । उनले डेढ बिघा जमिनमा सुपारी खेती गर्नुभएको छ । थप केही बिघामा सुपारीको बिरुवा रोप्ने तयारी गरिरहेका छन् । उनले सुपारीको फलबाट मात्र वर्षमा खर्च कटाएर वार्षिक तीन लाख आम्दानी गरिरहेको जनाए ।
“कुलो नलाग्ने पाखो एक बिघा जग्गामा ५० मन धान फलाउन ४० मन धानको खर्च लगानी गर्नुपर्छ”, धानसँग सुपारी खेतीको आम्दानी दाँज्दै उनले भने, “सुपारी खेतीमा तीन लाख आम्दानी गर्न रु २० हजार जति मलजलमा लगानी गरे पुग्छ ।” उनले धानखेती मासेर सुपारीको खेती गरेका हुन् ।










