सम्भवतः सबैभन्दा पहिले सत्यहाङमा पन्थ सम्बन्धी सूक्ष्म ढङगबाट अध्ययन– अनुसन्धान गर्ने आयामेली कवि वैरागी काइँला र म नै थियौं होला । यसै क्रममा मैले काइँला समक्ष “२८ औं गुरु फाल्गुनन्द लिङदेन स्वर्गारोण जयन्ती’ मनाउने प्रस्ताव राखेँ । ४–६ मार्च १९७७ मा शिलौटी (नाम्भुन यक ) मा सम्पन्न भएको २८ औं गुरु फाल्गुनन्द लिङदेन स्वर्गारोण जयन्तीमा नातामा महागुरु फाल्गुनन्द लिङ्देनका नाति बालागुरु आत्मानन्द लिङदेन, सत्यहाङमा मन्दिरका पूजारीहरु र सयौं महागुरु फाल्गुनन्द लिङदेनका चेला– भोलाले सहभागिता जनाएका थिए । कहिलेकाहीँ मलाई हाँसो उठछ, कहीँ स्वर्गारोहण जयन्ती पनि मनाइन्छ र ?
एवम् रीतले वैरागी काइँला र मैले सत्यहाङमा पन्थ सम्बन्धी सूक्ष्म ढंगबाट अध्ययन– अनुसन्धान गरेका थियौं । यसबाट हामीलाई पत्ता लाग्यो– महागुरु फाल्गुनन्द लिङदेनको आज्ञामा सुरत दिलदास (कुलमान नेम्बाङ), सानो गुरु बद्रीनन्द तुम्बापो, काइँला गुरु सेवाहाङ नेम्बाङ र रणधोज नेम्बाङले हिन्दू धर्मका कर्मकाण्ड, पूजाविधि, तन्त्रमन्त्र र ज्योतिषशास्त्र सम्बन्धी धार्मिक पुस्तकहरु लिम्बू लिपि तथा भाषामा अनुवाद गरेका रहेछन् । ती अनुदित धार्मिक पुस्तकहरुलाई नै सत्यहाङमा पन्थको कर्मकाण्ड, पूजाविधि, तन्त्रमन्त्र र ज्योतिषशास्त्रको रूपमा प्रयोग गरिएका रहेछन् ।
यस सन्दर्भमा नेपालको १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन सम्बन्धित दुईवटा घटनालाई उल्लेख गर्दा असान्दर्भिक नहोला । पहिलो घटना, महागुरु फाल्गुनन्द लिङदेन भारतको चारधाम तीर्थयात्रामा गएको मौकामा ज्ञानबहादुर पेल्लुङवा पाँचथर, याम्बोङमा आएर भनेछन्– ‘गुरु फाल्गुनन्द लिङदेन त मरिसक्यो । म उनको अवतार भएर आएको छु । याम्बोङवासीले उनलाई शिलौटी मन्दिरमा लगेर महागुरु फाल्गुनन्द लिङदेनकै आसनमा विराजमान गराए छन् । तीर्थयात्राबाट फर्किएर आएपछि महागुरु फाल्गुनन्द लिङदेनले ज्ञानबहादुर पेल्लुङ्वालाई शिलौटीबाट धपाए छन् ।
दोस्रो घटना, शिलौटीमा महागुरु फाल्गुनन्द लिङदेनको दाहसंस्कार सकिनासाथ पाँचथर, लोब्रे मन्दिरका पुजारी बैजनाथ तुम्बापोले मलामीहरुलाई सम्बोधन गर्दै भनेछन् ‘तिमीहरुले मलाई चिन्यौ ? म को हुँ ? भन्दै फलाक्न थाले छन् । मलामीहरु मध्ये याम्बोङका तत्कालीन लिम्बुवानका सुब्बा नारद नेम्बाङ उनको छेवैमा गएर भनेछन्– ‘हामी तिमीलाई राम्ररी चिन्छौं, तिमी लोब्रे मन्दिरका पुजारी बैजनाथ तुम्बापो हौ ।’ बैजनाथ तुबापोको प्रश्नवाचक आग्रह हो – सत्यहाङमा पन्थीले आफूलाई महागुरु फाल्गुनन्द लिङदेनको अवतार मानुन् । जबकि, महागुरु फाल्गुनन्द लिङदेनका प्रमुख सहयोगी बालागुरु दलबहादुर नेम्बाङले यसपछि तपाईं कहाँ अवतार लिनुहुन्छ भनी प्रश्न गर्दा महागुरु फाल्गुनन्द लिङदेनले ‘म नेपालमा अवतार लिंदिन । चीनमा मेरी फूपू छिन्, त्यहाँ अवतार लिन्छु ।’ भनी उत्तर दिएका थिए ।
वस्तुतः महागुरु फाल्गुनन्द लिङदेन हिन्दु थिए । यस सन्दर्भमा महागुरु फाल्गुनन्द लिङदेन मात्र होइन, युमा धर्म मान्ने लिम्बूहरु बाहेक अधिकांश लिम्बू हिन्दु नै हुन् । परन्तु, महागुरु फाल्गुनन्द लिङदेनले लिम्बू लिपि तथा भाषाको उन्नयनमा अतुलनीय योगदान पुर्याएका छन् । लिम्बूहरुले उनले लिम्बू लिपि तथा भाषामा पुर्याएको अतुलनीय योगदानलाई उच्च मूल्याङ्कन नगर्नु घोर कृतघ्नता हुनेछ । यदि लिम्बू कुलवंशमा महागुरु फाल्गुनन्द लिङ्देन नजन्मिएका भए सायदै मात्र लिम्बू लिपि तथा भाषा उन्नत हुने थियोे होला ।
(लेखक, ग्रेटर लिम्बूवानका सर्वमान्य नेता हुनुहुन्छ ।)










