दमक, पुस १९
झापाको दमक नगरपालिका वडा नम्बर ४ मा रहेको विद्योदय आधारभूत विद्यालयका १३७ जना विद्यार्थीलाई सानो प्रयास युवा समाजले शुक्रबार न्यानो कपडा (स्वेटर) वितरण गरेको छ ।
ओम शान्ति डेण्टलका सञ्चालक तथा सानो प्रयास युवा समाजका सदस्य कमल गैरेको जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष छबि खतिवडाले बताउनु ।
सानो प्रयास युवा समाजले प्रत्येक सदस्यको जन्मदिनमा सामाजिक कार्य गर्दै आएको र जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा सहयोग गर्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा कार्यक्रम आयोजना गरिएको कमल गैरेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद होमबहादुर थापाले विद्यालय र सानो प्रयास युवा समाजलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दमक ४ नम्बर वडाध्यक्ष पुण्यप्रसाद दाहालले समाजको गतिविधिलाई उच्च मूल्यांकन गर्दै संस्थाको निरन्तर सामाजिक योगदानको प्रशंसा गर्नुभयो ।
विद्यालयको तर्फबाट समाजलाई योगदानको कदरस्वरूप सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य शारदा भट्टराई सापकोटा, सामाजिक व्यक्तित्व अम्विकाप्रसाद खनाल, वडासदस्य हुकुमचन्द्र बस्नेत र शिक्षक भीमराज दाहाललगायतको आतिथ्यता रहेको थियो ।
समाजले मासिक रूपमा एक/एकवटा सामाजिक कार्यक्रम गर्दै आएको छ । यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गर्ने सहभागीहरूले विश्वास व्यक्त गरेका छन् ।
२०७७ साल मा कोरोना महामारीका समयमा स्थापना भएको सानो प्रयास युवा समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । कोरोना महामारीका समयमा पीडितहरूलाई खाना खुवाउने, अस्पतालमा सेनिटाइजर लगाउने जस्ता कामहरू संस्थाले गर्दै आएको थियो । संस्थाले फागुन यता बिभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।









