दमक, माघ ६
मुस्लिम समुदायका बालबालिकाहरुलाई मदरसामा गएर पढ्न अप्ठयारो भइरहेको बारेमा दमकस्थित वडा सरकारको ध्यानाकर्षण भएको छ । बिहानै चिसोमा मदरसा पुग्ने ती बालबालिकाहरुलाई भूँईमा बस्ने सुरक्षित सामग्री र न्यानो कपडाको समेत अभाव भएको थाहा भएपछि सो समस्याको समाधान गरिएको छ ।
वडा नम्बर ६ को कार्यालयले हनुमान मन्दिर छेउमा रहेको मस्दिजका बालबालिकाहरुलाई बस्ने न्यानो सामग्री र केही शैक्षिक सामग्री समेत वितरण गरिएको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।
त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई ४२ थान स्वेटर, उर्दु भाषाका ३–४ प्रकारका पुस्तकहरु, अन्य शैक्षिक सामग्री र भूँईमा ओच्छ्याएर बस्ने म्याट एक बण्डल वितरण गरिएको थियो । वडाले मदरसासँगै मस्दिजमा समेत सकेको सहयोग गरिरहेको भन्दै मस्दिजका अध्यक्ष बासिर मियाले जानकारी दिनुभयो ।
वडाले समुदाय लक्षित बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही अनुसार यहाँ पनि हरेक वर्ष कुनै न कुनै कार्यक्रमको शिर्षक राखेर सहयोग गर्दै आएको वडा सदस्य कमल श्रेष्ठले जानकरी दिनुभयो ।










