दमक, २३ चैत / सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान रुपन्देहीको भैरहवा पुर्याइएको छ ।
लगातार पक्राउ पर्दै र धरौटीमा छुट्दै आएका लामिछानेलाई पुनः रुपन्देहीमा ठगीको मुद्धा परेपछि पक्राउ गरी त्यता पठाइएको हो । शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर शनिबार भैरहवा पठाइएको थियो । त्यसपछि रुपन्देहीस्थित भैरहवामा लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जनाउनु भयो । आइतबार विदा परेकाले लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाउने बताउनु भयो ।
शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गर्नुभएको थियो । लामिछाने विरुद्ध एकपछि अर्को ठगिको मुद्धा जोडिदै गएको छ ।









