दमक, ११ बैशाख / अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीको मुद्दामा सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासमा थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीको तर्फबाट नारायणकुमार सुवेदीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको हो ।
यसअघि गत वैशाख ४ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले थुनामा रहेका चारै जनालाई देश निकाला नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै वैशाख ११ गते सर्वोच्चको इजलासमा पेस गर्न आदेश दिएको थियो ।
नेपाल छिरेका चारसहित १८ भुटानी शरणार्थीलाई अमेरिकाले गत चैत ११ मा भुटानसम्म नै ल्याएर डिपोर्ट गरेको थियो । जिम्मा लिएपछि भुटानले उनीहरुलाई पहिलेनै शिविरतर्फ बसोबास गरेकाले यता बस्न नमिल्ने भन्दै त्यहाँबाट निकालेको थियो । त्यसपछि चारैजना भारतको बाटो हुँदै शरणार्थी शिविर दमक आइपुग्दा नेपाल प्रहरीले पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो ।
अन्य १४ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ । उनीहरू नेपाली मूलका भुटानी भई नेपालमा शरणार्थीको रुपमा दर्ता भै शरणार्थीकै रुपमा अमेरिका पुनर्वास भएका थिए ।









