जनकपुरधाम, २५ कात्तिक। मधेश प्रदेश सरकार गठनविरुद्ध ७ राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, लगायतका सांसदहरूले धर्ना दिएका छन्।
सरकार गठनविरुद्ध एमालेबाहेकका दलहरूले आजै सर्वाेच्च अदालतमा रिट समेत दर्ता गरेका थिए । ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् । उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ । रिट लिएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वाेच्च अदालत पुग्नु भएको थियो । उहाँहरूलाई रिट निवेदनमा सहयोग गर्न मधेश प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झा समेत पुग्नु भएको थियो।
गत आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो। सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गर्नु भएको थियो। यसप्रति कांग्रेससहितका दलहरु आक्रोशित बनेका छन् । होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाउनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी भने पदमुक्त भइसकनु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार भण्डारीलाई पदमुक्त गर्नु भएको हो ।









