दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको फूल नियन्त्रणमा लिइएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा इलाका प्रशासन कार्यालय दमकका अधिकृत सुरेन्द्र दाहालको नेतृत्वमा गरिएको निरीक्षणका क्रममा ७२ पोका भारतीय सयपत्री फूल फेला परेको थियो।
प्रशासनका अनुसार उक्त फूल शान्ति कोल्ड स्टोरमा एक व्यवसायीले भण्डारणका लागि पठाएका थिए। तर, फूल कसको हो भन्ने तत्काल पहिचान हुन सकेको छैन।
शनिबार राति नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उक्त फूल बरामद गरिएको अधिकृत दाहालले उज्यालो खबरलाई जानकारी दिनुभयो।
जफत गरिएको फूल सशस्त्र प्रहरी बलको पाडाजुगीस्थित गणमा राखिएको छ। बरामद फूललाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय पठाउने वा नष्ट गर्ने भन्ने विषयमा आइतबार निर्णय गरिने जनाइएको छ।










