झापा,३ मंसिर ।झापाको मेचीनगर नगरपालिका–७ स्थित इटाभट्टाकी एक महिला करिब १० दिन अघिदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल रंगाशाला छेउ माइती घर भएकी ३२ वर्षीया बिमला राजवंशी इटाभट्टास्थित घरबाट गत कार्तिक २२ गते शनिवारदेखि वेपत्ता भएकी थिन् ।
बिमलाका श्रीमान ३३ बर्षीय सुवोध राजवंशी हाल वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका बिमलाका बुबा भीमबहादुर राजवंशीले जानकारी दिनु भयो । उहाँका अनुसार ज्वाई करिव २ बर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका हुन् ।
बिमला र सुवोधका १५ बर्षीया छोरी हर्षिका र १० बर्षीय छोरा मनिष रहेका छन् । गत कार्तिक २२ गते शनिवारका दिन बिहान ८ बजे ब्यूटीपार्लर जान्छु भनेर हिडेकी बिमला सम्पर्कमा नआएपछि खोजी गरिदिन इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको बिमलाका बुबा भीमबहादुरले जानकारी दिनु भयो । यसैगरी छोरी खोजी गरिदिन माइती नेपाल काँकरभिट्टामा पनि छोरीको फोटो दिएर जानकारी गराएको उहाँको भनाई छ ।
हाल बिमलालाई घर र माइती पक्षले खोजीगरिरहेका छन् । माइती पक्षका अनुसार स्थानीय एक युवाको साथमा हिडेको हुन सक्ने अनुमान गरिएको छ । बिमलाकी आमा ललीता राजवंशीले छोरी हराएदेखि खाना खान छोडनु भएको छ। उहाँ रातभर निद्रा नलाग्ने गरेको बताउछिन् । ‘नातीनातिनाले आमा खोजिरहेका छन्’ ललीताले रुदै भन्न्ु भयो,‘छोरी तिमी जहाँ भएपनि जस्तो अवस्थामा भएपनि घर फर्क ।’ उहाँले विमलालाई घर फर्कन आग्रह गर्दै अर्केसँग गएको भएपनि उहाँले चाहे जस्तो गरिदिने बताउनु भयो। प्रहरीले मोवाइल फोनको लोकेशन हेर्दा भारतको अरुणाञ्चलस्थित पासीघाटको देखाउने गरेको माइती पक्षले जानकारी दिएका छन् ।









