सुनसरी,७ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा आइतबार जेनजीहरुले सुनसरीको दुहबीमा पनि विरोध प्रदर्शन गरेको प्रहरीले जनाएको छ । महेश बस्नेत आउने भएपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । बस्नेत सवारी गाडी भने दुहबी क्रस गरिसकेको छ । युवाहरुले एमालेविरुद्ध नाराबाजी गरेका हुन् ।
विराटनगर विमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेका हुन् । मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।
विमानस्थलमा बस्नेत सवार गाडीमाथि रातो मसी फाल्ने गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् भने कुँवर पनि नेविसंघ निकट नै रहेको बताइएको छ । गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् ।उनलाई शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति पनि बनाएको हो।
प्रहरीको सुरक्षामा अगाडि बढेको बस्नेत सवार कारमा युवाहरुले दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । लगत्तै एमाले कार्यकर्ताको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी आएको एमालेले बताएको छ ।









