विर्तामोड, २३ मंसिर । भ्रष्टाचार विरुद्ध कलम चलाए वापत तीन जना झापाली सञ्चारकर्मी एकसाथ पुरस्कृत भएका छन् ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले मंगलवार विर्तामोडमा ती पत्रकारलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा सञ्चारकर्मी चिरन्जिबी घिमिरे, इन्दू पूर्वेली र सुरेन्द्र भण्डारी हुनुहुन्छ । उहाँहरुमध्ये घिमिरेलाई यो वर्षको ५० हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरियो । त्यस्तै पूर्वेली र भण्डारीलाई गत वर्षको पुरस्कार राशीबाट दामासाही २५ हजार २ सय २५ रुपैयाँका दरले प्रदान गरिएको छ ।
सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्युनीकरणमा टेवा पुग्ने खालका रिपोर्टिङ गरेको भन्दै नेपाल पत्रकार महासंघले उहाँहरुलाई पुरस्कारका लागि योग्य ठहर्याएको हो । यसका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले कार्यविधि समेत बनाएको बताइएको छ ।
पुरस्कार वितरण गर्दै पे्रस काउन्सिलका नवनियुक्त अध्यक्ष कुमार आचार्यले भ्रष्टाचार न्युनीकरणमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा आचारसंहिता उल्लंघनका घटना बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न पत्रकारसम्वद्ध संघसंस्थाले क्रियाशीलता बढाउनुपर्ने सुझाव पनि दिनुभयो ।
सोही कार्यक्रममा लैङ्गिक हिंसा न्युनीकरणको क्षेत्रमा कलम चलाएवापत सञ्चारकर्मी ज्योत्स्ना श्रेष्ठ र रन्जिता खड्कालाई पनि पुरस्कृत गरिएको थियो ।
अमेरिकाको टेक्सासमा मुख्य कार्यालय रहेको हेम–सरिता फाउन्डेसनले सो पुरस्कारका लागि नेपाल पत्रकार महासंघमा ५ लाख ५ हजारको अक्षयकोष खडा गरेको छ । सोही कोषको व्याजबाट तीन वर्षदेखि ५० हजार ५ सय ५५ रुपैयाँ राशीसहितको पत्रकारिता पुरस्कार प्रदान गरिंदै आएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।
हेम–सरिता फाउन्डेसनले हरेक वर्ष काठमाडाैंमा पनि छुट्टै कार्यक्रम गरेर एक लाख राशीकाे टंकप्रसाद–रमादेबी पत्रकार पुरस्कार वितरण गर्दै आएकाे छ ।









