काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले एकलौटी रूपमा विशेष महाधिवेशनको कार्यविधि पारित गरेको भन्दै आपत्ति जनाउनु भएको छ । संस्थापन पक्षको बहिष्कारका बिच पारित गरिएको उक्त कार्यविधि विधानविपरीत भएको भन्दै उहाँले पार्टी एकता जोगाउने जिम्मा अब असन्तुष्ट पक्षकै हातमा रहेको बताउनु भयो ।
प्रवक्ता महतले गगन–विश्वप्रकाश समूहको पछिल्लो कदम पार्टीको विधान र प्रक्रियाविपरीत भएको टिप्पणी गर्नु भएको छ । उहाँले अहिले अघि बढाइएको भनिएको कार्यविधि र प्रक्रियामा विधि र विधान केही पनि नमिलेको जिकिर गर्नु भएको छ। संस्थापन पक्षसँगको अनौपचारिक वार्तालाई लत्तयाएर अर्को पक्षले एकलौटी निर्णय गरेको उहाँको आरोप छ ।
हामीहरू अनौपचारिक रूपमा वार्ता गरिरहेका थियौँ, तर उहाँहरूले त्यसलाई उल्लङ्घन गर्नुभयो,’ महतले भन्नु भयो, ‘पार्टीलाई एकताबद्ध राख्ने कि नराख्ने भन्ने कुरा अब उहाँहरूकै हातमा छ ।’









