दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरू सहभागी भएका छन्।
दमक–९ मा रहेको एमाले नगर कमिटीको कार्यालय यसअघि पनि सञ्चालनमा थियो। तर, गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विध्वंसकारीहरूले आगजनी गरी भवन भत्काइदिएपछि पुनर्निर्माण गरिएको हो। पुनर्निर्माण सम्पन्न भएपछि भवनको औपचारिक उद्घाटन गरिएको हो।
भवन पुनर्निर्माणका लागि एमाले कोशी प्रदेश सचिवालय सदस्य अम्बिका खनालको संयोजकत्वमा समिति गठन गरिएको थियो। खनालकै सक्रियतामा पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट सहयोग संकलन गरी भवन पुनर्निर्माण सम्भव भएको उहाँले बताउनुभयो।
भवन पुनर्निर्माणमा सहयोग गर्ने दाता तथा जग्गादाताहरूलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो। प्रमाणपत्रसहित गरिएको सम्मान कार्यक्रममध्ये पार्टी भवन निर्माणका लागि जग्गा दान गर्ने लक्ष्मीदेवी बराललाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।
सम्मानपछि बोल्दै जग्गादाता बरालले जग्गासम्बन्धी सबै कानुनी प्रक्रिया पूरा गरेको जानकारी दिनुभयो। उहाँले जग्गासम्बन्धी सम्पूर्ण कानुनी कागजात दमक नगर कमिटीलाई हस्तान्तरणसमेत गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले तत्कालीन जेनजी आन्दोलनका क्रममा एमालेका पार्टी कार्यालय र नेताकार्यकर्ताका घरमा मात्र नभई लोकतन्त्रवादी सबै राजनीतिक दल, नेता तथा व्यक्तिका घरमा आगजनी र तोडफोड भएको बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दमकका मेयरको घरबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूका केही घरमा मात्रै क्षति नभएको उल्लेख गर्दै उहाँले अन्य दलका नेता तथा कार्यकर्ताका घर र कार्यालयसमेत निशानामा परेको बताउनुभयो।
उहाँले भन्नुभयो, “यो घटना किन भयो ? कसले गरायो ? त्यसबेला जनताले अत्यधिक मत दिएर जिताएका संसद्माथि कसले प्रहार ग¥यो ? यसको समीक्षा हुन जरुरी छ।”
एमाले दमक नगर कमिटीका अध्यक्ष राम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न नेताहरूका साथै पार्टीका विभिन्न भ्रातृ तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।









