काठमाडौं,२ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गर्नु भएको छ । निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँगै रहेको दाबी गर्नु भएको छ।
आयोगमा बोल्दै कोइरालाले आफूहरू यहाँ आउनुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको बताउनु भयो । उहाँले निर्वाचन आयोगले पार्टीको आधिकारिकताको विषय लोकतान्त्रिक पद्धतिअनुसार टुंग्याउने विश्वास व्यक्त गर्नु भयो।
उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै बनाउनुपर्ने विधानमा स्पष्ट व्यवस्था रहेको जिकिर गर्नु भयो। कुनै पनि पदाधिकारीलाई आफूखुसी विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै उहाँले व्यक्ति नभई संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गर्नु भएको छ।
कोइरालाले टुँडिखेलमा गएर कुनै निर्वाचन आयुक्तले उम्मेदवारी दर्ता हुँदैन भन्यो भने त्यो आयोगलाई मान्य नहुने उदाहरण दिँदै गगन थापा समूहको निर्णय वैधानिक नहुने तर्क गर्नु भयो। उहाँले आफूहरू संस्था भएको र संस्थालाई हेरेर आयोग अघि बढ्नुपर्ने बताउनु भयो ।
अर्को पक्षले बुझाएको भनिएका हस्ताक्षरसमेत फिर्ता भएको निस्सा आयोगमा प्रस्तुत गर्ने उहाँले बताउनु भयो । महाधिवेशनमा गएका ८ सय ८५ जना प्रतिनिधिले उक्त महाधिवेशनबाट आफूहरू फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको र सोही प्रमाण आयोगमा पेस गरेको कोइरालाले जानकारी दिनु भयो ।









