काठमाडौँ,३ माघ । माघ ५ गतेदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को परिचय फरक बन्दै जादै छ । माघ ४ गते राजीनामा दिएपछि उहाँ महानगरका मेयर रहनु हुने छैनन् र हुनु हुनेछ केवल रास्वपाका वरिष्ठ नेता । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहनु भएका बालेनले आफ्नो पहिलो राजनीतिक यात्रा मधेसबाट सुरु गर्दै हुनुन्छ । मधेसकै महोत्तरी पुख्र्यौली घर भएका उहाँ माघ ५ गते प्रदेश राजधानी जनकपुर झर्दै हुनुन्छ् । उहाँ मधेस झर्ने भएसँगै मधेस केन्द्रित दलका नेता एक किसिमको भय सिर्जना भएको टिप्पणी पनि सुनिन थालेको रहेको छ ।
मधेस केन्द्रित दल र नेकपा एमालेका नेताहरू बालेनको चर्चाले बढी विचलित भएको देखिन्छ । रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा अघि सारेको छ । अनि मधेसबाट पहिलो प्रधानमन्त्रीको नाराका साथ रास्वपाले बालेनलाई मधेसमा उतार्दै आएको छ । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका उहाँलाई महोत्तरीबाट पनि चुनाव लड्न सुझाव आइरहेको छ ।
रास्वपाले चुनावी प्रचारको सुरुवात मधेस प्रदेशको राजधानी जनकपुरबाट गर्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । जनकपुरका प्राध्यापक तथा राजनीतिक विश्लेषक भोगेन्द्र झा भन्नु हुन्छ, ‘रास्वपालाई थाहा छ, मधेसले साथ नदिएसम्म बहुमत ल्याउन सकिँदैन, प्रधानमन्त्री बनाउन सकिँदैन । त्यसलाई मध्यनजर गर्दै मधेसमा बालेनलाई उतारेर आफ्नो चुनावी अभियान सुरु गरेको छ ।’
एक त बालेन आफैँमा चर्चित व्यक्ति हुनुन्छ् । देशभरका युवाले मन पराउँछन् । त्यसमा पनि मधेसी समुदायका भएका कारण मधेसको सेन्टिमेन्ट तान्न रास्वपाले बालेनलाई मधेसमा उतारेको झाको विश्लेषण रहेको छ । बालेन मधेसमा उत्रेपछि रास्वपाले थुप्रै सिट त्यहाँबाट जित्न सक्ने दाबी समेत गरिएको छ । रास्वपासँग मधेसका जेनजी अगुवाहरू पनि जोडिएका छन् ।
तराई–मधेस मात्र आधार क्षेत्र रहेका दलहरूलाई भने रास्वपा र बालेन ठुलो चुनौती बन्न सक्ने विश्लेषण हुन थालेको छ । बालेन क्रेजले विशेषगरी मधेस केन्द्रित दल र एमालेका नेता–कार्यकर्ताहरू तनावमा देखि रहेका छन् । झापा–५ बाटै बालेनले चुनाव लड्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली उहाँको आलोचनामा केन्द्रित हुनु भएको छ ।
मधेस केन्द्रित दल र एमालेको बालेन लक्षित आलोचनाको कुनै अर्थ नरहने रास्वपा नेतृ ममता शर्मा बताउनु हुन्छ । रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्मा भन्नु हुन्छ्, ‘मधेसमा रास्वपा बलियो हुँदै छ भन्ने थाहा पाएर बालेनको विरोध गरेका हुन् । बालेन मधेसी हुनुहुन्छ, उहाँ मधेसमा गएपछि झन् शक्तिशाली बन्नुहुन्छ भने डर मधेसी नेताहरुमा देखिएको छ । त्यही भएर उहाँहरूले विरोध गर्नुभएको हो ।’
एमाले केन्द्रीय सदस्यीय एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादव बालेनलाई मधेसले स्वीकार नगर्ने दाबी गर्नु हुन्छ् । ‘काठमाडौँमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिति देखाउन नसक्ने ‘फेसबुकिया प्रधानमन्त्री’ भनेर चिनिने बालेन अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ । तर काठमाडौँमा साइकल, ठेला र कबाड जस्तो स–साना व्यापार गर्ने मधेसी व्यापारीलाई गरिखान नदिने व्यक्तिलाई मधेसको जनमत मिल्ने सम्भावना छैन,’ यादवको जिकिर रहेको छ ।
जसपा नेपालका नेता जितेन्द्र यादव बालेन मधेस आउनुमा आफूहरूको कुनै आपत्ति नरहेको बताउनु हुन्छ । ‘रवि आफैं सहकारी ठगीमा मुछिएको व्यक्ति हुनुहुन्छ, मधेसप्रति उहाँको धारणा स्पष्ट छैन । मधेस संघीयताका लागि लडेको हो, यदि बालेन प्रधानमन्त्री भएर देशमा संघीयता समाप्त हुन्छ कि भन्ने हाम्रो चिन्ता हो,’ यादव भन्नु हुन्छ, ‘संघीयता समाप्त गर्न बालेनलाई प्रयोग गरिरहेको छ कि भन्ने हाम्रो चिन्ता पनि हो ।‘
जनता समाजवादी पार्टी निकट युवा संघका अध्यक्ष मनिष यादव जेनजी आन्दोलनको आत्मा बेचेर पार्टी खोल्ने र घण्टी बजाउनेहरूसँग मधेसी युवा सचेत रहनुपर्ने बताउँनु हुन्छ । ‘जेनजी आन्दोलनपछि विभिन्न रूपमा मधेसमा छिर्ने प्रयास भइरहेको छ, त्यसको सचेततापूर्वक सामना गर्नुपर्छ,’ उहाँ जिकिर गर्नु हुन्छ, ‘बालेन मधेस जाँदै हुनुन्छ, भन्नेमा हाम्रो कुनै आपत्ति छैन । आपत्ति उहाँको प्रवृत्ति र व्यवहारसँग छ, मधेसको बारेमा उहाँको बुझाइ नै गलत छ ।‘
जनकपुरका कांग्रेस नेता जीवनाथ चौधरी बालेन शाहको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउँनु हुन्छ । ‘उहाँ एउटा दलका राष्ट्रिय नेता हुनुन्छ्, जहाँ पनि जान पाउँनु हुनुन्छ । त्यसको विरोध गर्न मिल्दैन । जसले बालेनको विरोध गरिरहेका छन् त्यो हारको मानसिकता हो,’ उहाँ भन्नु हुन्छ, ‘मधेसमा त कांग्रेसका सभापति शेरबहादुर देउवा आउँनु हुन्छ्, एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आउँनु हुन्छ्, प्रचण्ड आउँनु हुन्छ त्यसको विरोध हुँदैन । बालेनको मात्र विरोध गर्नु भनेको प्रोपगान्डा हो ।‘
बालेन काठमाडौँमै हुर्केकाले मधेसको बारेमा कम जानकारी होला तर उहाँले प्रयास गरिरहेको चौधरी बताउँनु हुन्छ । ‘बालेन मधेसको होइन, मधेसी होइन भनेर विरोध गर्नु हारको मानसिकता हो,’ उहाँ भन्नु हुन्छ।
२०७९ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशमा समानुपातिकमा एक लाख सात हजार ८४ र प्रत्यक्षमा ३२ हजार ५३७ मत ल्याएको थियो । जब कि मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता छन् । यसलाई आधार मान्ने हो भने आगामी चुनावमा रास्वपाले निकै मेहनत गर्नुपर्ने देखिएको हो । रास्वपाको हालसम्मको संगठन वा मत सहर बजार केन्द्रित छ । रास्वपा सबभन्दा कमजोर मधेसमा नै देखिएको हो । त्यही भएर रणनीतिक रूपमा रास्वपाका सभापति रवि लामिछानेले बालेनलाई मधेसमा उतारेर चुनावी अभियान सुरू गरेको हुनसक्छ ।
बालेनका काका पर्ने राजनीतिक विश्लेषक ई. सत्यनारायण साह भन्नु हुन्छ, ‘बालेन मधेसमा के गर्छन् के गर्दैनन्, त्यो कुराको आधिकारिक जानकारी छैन तर उहाँ मधेस जाँदै हुनुन्छ्, देशको प्रधानमन्त्री बन्दैछन् भने त्यो निकै खुसीको कुरा हो । मधेस वा देश कुनै व्यक्ति, समुदाय वा दलको होइन, सम्पूर्ण नेपाली जनताको हो, हरेक व्यक्ति हरेक ठाउँमा स्वतन्त्रतापूर्वक जान पाउने संविधानले अधिकार दिएको छ ।‘
मधेस केन्द्रित दलहरूले बालेनको विरोध गर्नुमा आफूहरूको हालीमुहाली बन्द हुन्छ भन्ने भय रहेको साहको टिप्पणी रहेको छ । ‘रास्वपा शक्तिमा आएमा मधेसमा उहाँहरूको हालीमुहाली अवश्य बन्द हुन्छ । सात–आठ वर्षदेखि मधेसवादी दलले मधेसमा के गरिरहेका छन्, ती सबै कुरा मधेसी जनतालाई थाहा छ,’ उहाँ भन्नु हुन्छ ‘कुनै नेता वा दलले विरोध गर्दैमा अब मधेसी जनताले पत्याउने छैनन् ।‘









