सुटुक्कै पद हस्तान्तरण

वीरता लेडी जेसीजमा विधान विपरीत नेतृत्व चयन

निर्वाचन अधिकृत मेनुका ओलीले नेपाल जेसीजलाई पनि टेरिनन्

झापा,३ माघ । ‘विधिको शासन’लाई आत्मसात गर्ने नारा बोकेको संस्थामै विधान विपरीत गतिविधि भएको विषयले अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चा पाएको छ । बिर्तामोडस्थित वीरता लेडी जेसीजको शाखा अधिवेशन, नेतृत्व चयन र पद हस्तान्तरणमा संस्थाका पूर्व अध्यक्षहरुले नै गम्भीर प्रश्न उठाएका छन् । वीरता लेडी जेसीजमा विधान विपरीत कार्य भएको भन्दै चौतर्फी आलोचना भएको छ ।

संस्थाकी निवर्तमान अध्यक्ष एवम् निर्वाचन अधिकृत मेनुका ओलीले विधिको धज्जी उडाउँदै विधानको गम्भीर उल्लंघन गरेको बताइएको छ । ओलीले विधानमा व्यवस्था भएको योग्यता नपुगेकी मुना ढुङ्गेल सन् २०२६ को लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएको भनी एकलौटी घोषणा गरेकी छन् । यो घटनासंगै वीरता लेडी भित्रको विवाद सतहमा आएको छ भने यस विषयमा नेपाल जेसीजमा समेत उजुरी परेको बताइएको छ ।

नेपाल जेसीजमा उजुरी परेपछि जिम्वेवार पदाधिकारीले फोन मार्फत तत्काल पदहस्तान्तरण लगायतका कुनै पनि कार्य अघि नबढाउनु भने पनि निर्वाचन अधिकृत मेनुका ओलीले अटेर र जवरजस्ती गरी विधि प्रक्रिया विपरीत कार्य गरेर संस्थालाई नै विवादमा फसाएकी छिन् । उनी नेपाल जेसीजको उपाध्यक्ष समेत हुन् । नेपाल जेसीजमा उजुरी परिसकेपछि हतारमा माघ १ गते विहान १५÷२० जनाको उपस्थितिमा सचिवालयमै वीरता लेडीको पद हस्तान्तरण भएको थियो । आफूहरुलाई थाहै नदिइ सुटुक्कैे पद हस्तान्तरण भएको भन्दै पूर्व अध्यक्षहरुले नै आपत्ति जनाएका छन् ।

अधिवेशनका लागि स्थानीय सञ्चारमाध्यममा १५ दिन अघि सूचना प्रकाशित गरी सदस्यहरुलाई जानकारी गराउनु पर्ने व्यवस्था भएपनि ३ दिन अघि त्यही पनि फेसबुकमा सूचना पोष्ट गरेर पुस २६ गते अधिवेशन आह्वान गरिएको बताइन्छ । निर्वाचन अधिकृत ओलीले मनोमानी ढंगले विधिको खिल्ली उडाउदै सूचना नै प्रकाशित नगरी अधिवेशन गराएको पनि स्रोतले जनाएको छ ।

नेपाल जेसीजको निर्देशनको अवज्ञा, निर्देशन विपरीत पद हस्तान्तरणः

नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराईले वीरता लेडी जेसीजको पद हस्तान्तरण रोक्न दिएको आदेशलाई उल्लघन गर्दै पदहस्तान्तरण भएको बताएका छन् । उनले वीरता लेडी जेसीजको पदाधिकारी चयन प्रक्रिया र विधान मिचेको विषयमा छानबिन भइरहेकाले राष्ट्रिय अध्यक्ष तथा बोर्डमा बैठक बसेर छिनोफाने गर्ने बताए । सञ्चारमाध्यमसंग कुरा गर्दै उनले भने–नेपाल जेसीजकी उपाध्यक्ष तथा वीरता लेडी जेसीजका निवर्तमान अध्यक्ष मेनुका (मीनु) ओलीलाई पटक–पटक फोन गरेर गरेर विधान विपरीतका काम नगर्न आग्रह गरे पनि अवज्ञा भयो । उनले वीरता लेडी जेसीजको अधिवेशन विधान विपरीत भएको भन्दै नेपाल जेसीजमा उजुरी परेकाले त्यस विषयमा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जानकारी दिए । वीरता लेडीका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष रहेका भट्टराईले विधान विपरीत काम गरेर जेसीजको गरिमा बिगार्ने छुट कसैलाई नभएको स्पष्ट पारे । उनले विधान विपरीत कार्य गर्ने जो कोही पनि कारवाहीमा पर्ने भएकाले सबै उजुरीको छानबिन हुने बताए । केन्द्रको निर्देशन नमान्ने शाखाहरुलाई कारवाही गर्नका लागि बोर्ड बैठकले निर्णय गर्ने उल्लेख गरे ।

वीरता लेडी जेसीजमा मनपरी भइरहेको भन्दै जेसीजले विधि सिकाउने भए पनि विधिकै धज्जी उडाउने छुट कसैलाई नभएको नेपाल जेसीजका एक नेताले बताए । उनले यस्ता विकृतिविरुद्ध जेसीजका सबै शाखा तथा सदस्यहरुले आवाज उठाउनुपर्ने बताए । उनले भने–वीरता लेडी जेसीजमा निर्वाचन संयोजकले मनपरी गरेको देखियो, यसले समग्र जेसीजकै बदनाम हुने काम हुँदै छ । उनले विधान विपरीत काम गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

विधानमा के छ ?

नेपाल जेसीजको विधानमा स्पष्टसंग अध्यक्ष हुनका लागि नेपाल जेसीजको कम्तिमा चार वटा क्षेत्रीय सम्मेलन र तीन वटा राष्ट्रिय महाधिवेशनमा सहभागी भएको तथा जेसीज सम्वन्धी तालिम लिएको एक वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । यस विषयमा देशभरका शाखाहरुलाई सन् २०२४ मा नै परिपत्र गरेपनि निर्वाचन अधिकृत शाखा अध्यक्ष भएको वेलाको उक्त परिपत्रलाई गुपचुप राखिएको र विधि विपरीत काम गरेको बताइन्छ । ओलीले मनपरी गर्दा समेत नेपाल जेसीजले कुनै चासो नदिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना शुरु भएको छ ।

वीरता लेडी जेसीजको संशोधित विद्यान २०१८ को धारा–१७ को १ मा भनिएको छ– संस्थाका सबै पदाधिकारीको कार्यकाल आफू चुनिएको सालको अंग्रेजी क्यालेण्डर बमोजिम पहिलो १७ जनवरीदेखि सो सालको ३१ डिसेम्बरसम्म रहनेछ भनिएको छ । तर, यस्ता विषयमा लाई ख्याल नगरी उमेरलाई मात्रै आधार मान्दै वीरता लेडी जेसीजको अध्यक्षमा प्रोटेक्स हाल्ने गरिन्छ । विधिको उल्लघन गरेपछि ओलीको कार्यशैलीको शाखाका पूर्वअध्यक्षहरुले चर्को आलोचना गरेका छन् ।

उजुरी कसरी पर्यो ?

वीरता लेडी जेसीजकी नवनिर्वाचित अध्यक्ष मुना ढुंगेलविरुद्ध उजुरी परेको छ । वीरता लेडी जेसीजका बर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष ढुङ्गेलको विधान अनुसार अध्यक्ष हुने योग्यता नपुगेको भन्दै संस्थाकै सदस्य झुमा भट्टराई चुडालले नेपाल जेसीजमा छानविनका लागि उजुरी दिएकी छन् । अधिवेशनको प्रक्रिया र अध्यक्षको योग्यताका बारेमा छानविन गर्न २०८२ पुस ३० गते चुडालले नेपाल जेसीजमा लिखित उजुरी दिएको जानकारी दिइन् ।

शाखाको अध्यक्ष हुनका लागि नेपाल जेसीजको विधानमा उल्लेख भएको न्यूनतम योग्यताका रुपमा रहेको कम्तिमा तीन वटा राष्ट्रिय महाधिवेशन, चारवटा क्षेत्रीय सम्मेलनमा सहभागिता भएको हुनु पर्ने र टट, एम टट र जेसीआइ एकाडेमी तालिम मध्ये एउटा अनिवार्य लिएको हुनु पर्ने व्यवस्था रहेको तर, वीरता लेडीमा निर्वाचित अध्यक्ष ढुङ्गेलले उक्त योग्यता पूरा नगरेको कारण अध्यक्ष हुन अयोग्य भएकाले विधान अनुसार छानविनका लागि नेपाल जेसीजमा उजुरी दिएको चुडालले बताइन् ।

विधान उल्लंघन गरेपछि कस्ले के भने ?

निर्वाचन अधिकृत मेनुका ओलीले विधान विपरीत गरेको कार्यको चौतर्फी आलोचना भएको छ । पूर्व अध्यक्षहरुले नै प्रश्न उठाएका छन् । संस्था स्थापना यता अघिल्लो वर्षसम्म सयौं मानिसलाई निम्तो दिएर पार्टी प्यालेसमा भव्य कार्यक्रमकावीच वीरता लेडीको पदहस्तान्तरण हुँदै आएकोमा यस वर्ष सदस्य, पूर्व अध्यक्षहरुलाई समेत जानकारी नदिई सुटुक्क कार्यक्रम गर्नुले पनि निर्वाचन अधिकृत ओलीले विधान विपरीत कार्य गरेको पुष्टि हुने बताइन्छ ।

पूर्व अध्यक्ष राधा सुब्बाले सामाजिक सञ्जालमा लेखेकी छिन्– वीरता लेडीलाई बधाई, २०२५ ले २०२६ लाई चेन हस्तान्तरण गरेछ । पूर्व अध्यक्षले गर्नुपर्ने चेन हस्तान्तरण कार्यक्रममा निर्वाचन मण्डली मात्र देख्छु । आज सम्म यस्तो भएको थिएन । खुसुक्कै थाह नपाउने नयाँ कुरा भयो । यो नेपाल जेसीजमै पहिलो रेकर्ड हो । अर्की पूर्व अध्यक्ष रजनी बजगाँई भन्छिन्– ‘अति दुःखद् परिस्थति । यसरी रातारात पद हस्तान्तरणको ब्यानर बनाई अविर फुलमाला तयारीका साथ कार्यक्रम हुँदा पनि हामी पूर्व अध्यक्षहरूलाई किन सही ढङ्गले खबर गरिएन ? यसरी चुपचाप सचिवालयको सानो कोठामा सदस्यहरूलाई पनि नबोलाईकन पदमा बस्ने जति मात्र भेला भएर पद हस्तान्तरण कार्यक्रम गर्नुपर्ने अवस्था किन भयो ? यो कुरोको जानकारी छलफल संस्थापकज्यूसहित हामी पूर्व अध्यक्षहरूले बसेर गर्ने पर्ने हुन्छ है ।’

वीरता लेडीकै पूर्व अध्यक्ष सोमा शिवाकोटी – सन् २००४ सालमा स्थापित संस्था २०२५ सम्म आउँदै गर्दा कति पूर्व अध्यक्ष हुनुहुन्थ्यो होला ? जम्मा ४ जनाले गएर चेन लगाइदिनु भएछ, यस्तै दिन देख्नुपर्यो भन्दै आक्रोस पोख्छिन् ।

त्यस्तै पूर्व अध्यक्ष मिरा भट्टराई बजगाँईले सिल्भर जुब्ली वर्ष २०२५ को पद हसतान्तरण किन त्यस्तो भयो ? भनी प्रश्न गरेकी छिन् । त्यस्तै पूर्व अध्यक्ष सुष्मा पौडेलले संस्थाभित्रको विवाद देखेर भन्ने केही भेटिएन भनी दुःख व्यक्त गरेकी छिन् ।

जेसीज अभियानकर्मी तथा सदस्य रोजिना पाण्डे लेख्छिन्–के हो आज भोलि संस्थाका सदस्यलाई थाहै नदिई पद हस्तान्तरण हुन थालेछ । धन्न कुनै व्यक्तिको घरमा पछिल्लो बर्षको अध्यक्षको पद अघिल्लो बर्ष नै बेचे जस्तै ठेकेदारहरूले आफ्नो कोठामा लगेर माला लगाएनछन् ।

वीरता लेडीकी सदस्य तथा पूर्व कार्यकारिणी उपाध्यक्ष दीपा शिवाकोटी लुईंटेलले लेखेकी छिन्– झुमा चुडाललाई गरेको अन्यायको पहिलो सजाय हो यो । यसरी लुकिछिपी ,रातारात, सदस्य हरुलाई पनि थाहै नदिई पद हस्तानतरण गर्नु कति लज्जास्पद ,हास्यास्पद छ ? जीवनमा एकपटक हुन पाउने जेसीज अध्यक्ष त्यो पनि यसरी पदभार ग्रहण गर्नु ,वीरता लेडी जेसीजको इतिहासमै सवैभन्दा दुः खद् पद हस्तान्तरण ।

वीरता लेडी कै सदस्य कामना उप्रेतीले लेखेकि छिन्– के हो यस्तो ? कस्तो पद हस्तान्तरण हो यो ? हाम्रै वीरता लेडी जेसीज को हो र ? अनि हामी चाहिँ को हौं ? हामीलाई जानकारी हुँदैन यसरी गुपचुप गर्नुपर्ने के जरुरत थियो ? तपाईँहरू विधि विधानमा जानुभएको थियो भने लुकाएर गर्नुपर्ने जरुरी थियो ? कसैको मुहार हँसिलो छैन । कहाँ पुग्न, के गर्न, के पाउन यति हतार, यति होडबाजी आफ्ना सदस्यलाई खबरै नगरिकन पनि हुन्छ पद हस्तान्तरण ? पदको लोभ र अहंकारले भरिएका केही व्यक्तिले मेरो यति राम्रो संस्थालाई आज आठ दश जनाको घेराबन्दी भित्र पारे । आज मेरो मन साह्रै रोएको छ । मेरो गर्व गर्ने मेरो संस्था मेरो वीरता लेडिज जेसिज थियो । तर एक्कासी एउटा कोठाभित्र केही सीमित मान्छे मात्रै बोलाएर पद हस्तान्तरण गर्ने अवस्थामा पुग्यो ।

विधि विपरीत कार्य गरी संस्थालाई विवादमा फसाएकी निर्वाचन अधिकृत मेनुका ओलीले भने विधान बमोजिम नै कार्य गरेको दाबी गरेकी छिन् ।

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।