हिलो र धुलोको सास्ती सकियो

 हर्कलाल मार्ग कालोपत्रे भएपछि स्थानीय भन्छन्– ‘अब स्वर्ग जस्तो भयो’

बिर्तामोड,२७ माघ।बिर्तामोड–वर्षौंदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती झेल्दै आएका बिर्तामोडस्थित हर्कलाल मार्गका बासिन्दाले बल्ल शान्तिको सास फेर्न पाएका छन् । बिर्तामोडको मुक्तिचोक–भद्रपुर सडकको वैकल्पिक मार्गका रूपमा रहेको यो सडक कालोपत्रे भएसँगै यस क्षेत्रको मुहार फेरिएको छ भने स्थानीयको दैनिक जीवनमा समेत उत्साह छाएको छ ।

बिहानदेखि बेलुकासम्म उड्ने धुलोले घरभित्रका सिरकसम्म पुरिने सास्ती भोगेका स्थानीयले अहिलेको अवस्थालाई ‘स्वर्गको अनुभव’ भन्दै खुसी व्यक्त गरेका छन् । बिर्तामोडस्थित बीएण्डसी हस्पिटल पूर्व देउराली होटलदेखि दक्षिण भद्रपुर मार्ग जोड्ने यो सडकको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।
सङ्घीय सरकारको ८ करोड ७२ लाख रुपैयाँ लागतमा ड्रेनसहित ४.१ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अब करिब २०० मिटर सडक मात्र कालोपत्रे हुन बाँकी छ, जसका लागि कोशी प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेर काम अघि बढाइसकेको छ । ४० फिट चौडा यो सडक बनेपछि ठूला सवारीसाधन र जिल्लाको दक्षिणी क्षेत्र जाने यात्रुहरूका लागि यो मार्ग निकै सहज बनेको छ ।

सडक कालोपत्रे भएपछि स्थानीय व्यवसायी र सर्वसाधारणले वर्षौंदेखिको हैरानीबाट पार पाएको प्रतिक्रिया दिएका छन् । बिर्तामोड–४ मा व्यवसाय गर्दै आएका गमबहादुर मगर भन्छन्, ’पहिले दिनभर धुलोमा पुरिएर बस्नुपर्थाे, राति सुत्ने ओछ्यानसम्म धुलो पुग्थ्यो । अहिले कालोपत्रे भएपछि हिँडडुल गर्न र घर अगाडि बस्न कुनै समस्या छैन । हर्कलाल गिरीले खोलेको यो बाटो यति राम्रो बन्ला भन्ने त लागेकै थिएन ।’

अर्का व्यवसायी तेजप्रसाद उप्रेतीका अनुसार धुलोका कारण धेरै स्थानीयमा स्वास्थ्य समस्या देखिएको थियो । उनी भन्छन्, ’ती दिनहरू सम्झिँदा अहिले पनि कहाली लाग्छ । धेरै वर्षको प्रयासपछि बल्ल स्वर्ग जस्तो भएको छ । बाँकी रहेको काम पनि तत्कालै सकिनु पर्छ ।’
किराना व्यवसायी हेमप्रसाद नेपालले धुलोका कारण सामानहरू बिक्री गर्नै नमिल्ने अवस्था रहेको स्मरण गर्दै भने, ’सामान जोगाउन दिनभर पानी छर्कनु पथ्र्यो । अहिले ढुक्कले व्यापार गर्न पाइएको छ ।’

यातायातकर्मीहरूको अनुभव पनि उस्तै छ । अटो चालक लीला अधिकारी भन्छन्, ’धुलो र खाल्डाले गर्दा पहिले यहाँ आउनै मन लाग्दैनथ्यो, अहिले सरर यात्रु बोकेर आउन पाइन्छ ।’ ठेला चालक हासिम मोहम्मत समिम पनि बाटो चिल्लो भएपछि सामान ओसार्न निकै सजिलो भएको बताउँछन् ।

ऐतिहासिक सन्दर्भ र राजनीतिक पहल

हर्कलाल मार्गको इतिहास वि.सं. २०४८ सालदेखि जोडिएको छ । यस सडकका प्रत्यक्षदर्शी ९० वर्षीय वृद्ध जीवनाथ तिम्सिनाका अनुसार सुरुमा डोरी तानेर बाटो नाप्दा उहाँ आफैँ सहभागी हुनुन्थ्यो । ’पहिले महाविजोग थियो, अहिले झलल भएको छ’, उहाँ सम्झिनुहुन्छ्, ’अघिल्लो निर्वाचनमा देवराज घिमिरेलाई बाटो बनाउने सर्तमा माला लगाएर जिताएका थियौँ, उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्नु भयो ।’
प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेको विशेष पहलमा यो सडक निर्माण भएको स्थानीय अगुवा राजेन्द्र संग्रौला बताउँछन् । उहाँ भन्नुहुन्छ्, ’यो सडक निर्माणमा घिमिरेको भूमिका बिर्सन सकिँदैन ।’ अर्का अगुवा टेकनाथ नेपालले स्थानीय प्रतिनिधि हुँदाको फाइदा विकासमा देखिने उदाहरण हर्कलाल मार्ग बनेको बताउनु भयो ।

स्थानीय प्रमिला चौधरी, फर्निचर व्यवसायी नारायण राई र रीता तिम्सिना लगायतले सडक निर्माणले व्यापारिक चहलपहल बढाएको र बालबालिकालाई विद्यालय पु¥याउन सहज भएको भन्दै खुसी व्यक्त गर्नु भएको छ । उहाँहरूले अब बाँकी रहेको २०० मिटर सडक पनि चाँडै सम्पन्न गर्न सरोकारवालासँग माग गर्नु भएको छ् ।
झण्डै तीन दशक लामो प्रतीक्षापछि आधुनिक स्वरूप पाएको हर्कलाल मार्गले बिर्तामोडको सहरी विकास र स्थानीयको जीवनस्तरमा नयाँ आयाम थपेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा