काठमाण्डौ,२ फागुन ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी दिनमा कहिल्यै पनि ‘नेपाल बन्द’ नगर्ने घोषणा गरेको छ। पार्टीको चुनावी संकल्प पत्र सार्वजनिक गर्दै राप्रपाले ‘नेपाल बन्द सधैंका लागि बन्द’ भन्ने नीति लिएको जनाएको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बन्द र हड्तालको संस्कृतिले मुलुकको आर्थिक विकासमा गम्भीर असर पारेको र सर्वसाधारणको जनजीवन कष्टकर बनाएको उल्लेख गर्नुभयो। उहाँले आन्दोलनका नाममा नागरिकको दैनिक जीवन प्रभावित हुने कुनै गतिविधि नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
अध्यक्ष लिङ्देनका अनुसार स्वास्थ्य, हवाई सेवा, खानेपानी, विद्युत, ग्यास र पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण जस्ता अत्यावश्यक क्षेत्रमा हड्ताल पूर्ण रूपमा प्रतिबन्ध गर्ने नीति पार्टीले अघि सारेको छ। त्यसैगरी उहाँले समाजवाद र साम्यवादका दर्शन असफल भइसकेको दाबी गर्दै अब राष्ट्र, परम्परा र निरन्तरतामा आधारित ‘संवद्र्धनवाद’ नै देश बनाउने र बचाउने उपयुक्त बाटो भएको बताउनुभयो।
कार्यक्रममा अध्यक्ष लिङ्देनले गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिन हिच्किच्याउन नपर्ने धारणा पनि राख्नुभएको छ ।









