काठमाण्डौं,३ फागुन।उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित आइतबार राजधानीमा गरिएको कार्यक्रममा पार्टीले शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ। पार्टीले प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको प्रस्ताव अघि सारेको छ।
सङ्घीय र प्रदेश सांसदको सङ्ख्या कटौती गर्दै मन्त्रालयको संख्या घटाउने योजना पनि घोषणापत्रमा समावेश छ। भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध र सम्पत्ति राष्ट्रियकरण गर्ने नीति लिइने बताइएको छ। मतदाताले उम्मेदवार मन नपरे ‘नो भोट’ दिने विकल्प पनि प्रस्ताव गरिएको छ। आर्थिक लक्ष्यअनुसार सन् २०३० सम्म वार्षिक ९ प्रतिशत वृद्धि र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरिएको छ।
‘उज्यालो नेपाल’ अभियानअन्तर्गत हरेक घरपरिवारलाई जलविद्युत् आयोजनाका कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता पनि छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा र तोकिएको स्वास्थ्य संस्थामा उपचार, साथै विद्यार्थीका लागि ‘कमाउँदै पढ्दै’ इन्टर्नसिपको व्यवस्था पनि घोषणापत्रमा समेटिएको छ।









