दमक,४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर झापाको दमक नगरपालिकाका विभिन्न मुख्य चोकहरूमा आयोजना हुने भेटघाट कार्यक्रममा व्यस्त हुने र्कायक्रम रहेको छ। निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनु भएका ओलीले आज दमकका स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीको आजको तालिका बिहान ११ बजेदेखि साँझसम्म निकै व्यस्त रहनेछ। उहाँ बिहान ११ बजे दमक–५ स्थित यलम्बर चोकमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहभागी हुनुहुने छ। त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक–६ को शङ्खधर चोकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्याह्नपछि ओलीको कार्यतालिका निरन्तर छ।
दिउँसो १ बजे दमक–७ को तविन चोक र दिउँसो २ बजे दमक–१ स्थित हावलदार चोकमा आयोजना गरिने कार्यक्रममा उहाँ सहभागी हुनुहुने छ। त्यसैगरी, अपराह्न ३ बजे दमक–२ स्थित दमक फन पार्कमा आयोजित विशेष भेटघाटमा उहाँ पुग्नु हुनेछ भने दिनको अन्तिम कार्यक्रमका रूपमा ४ बजे दमक–३ स्थित आमचोक पुगेर स्थानीय बासिन्दाका कुरा सुन्ने र आफ्ना भनाइ राख्ने कार्यक्रम तय भएको छ। झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका अन्य पालिकाहरूमा स्थानीयसँगको भेटघाट सम्पन्न गरिसकेका ओलीले आज दमक नगरपालिकालाई केन्द्रित गर्नु भएको छ। मतदातासँग नजिक हुन र स्थानीय समस्याबारे जानकारी लिन यस्ता चोक भेटघाट कार्यक्रम प्रभावकारी हुने एमालेको विश्वास छ।









