झापा,५ फाल्गुन । झापाको शिवसताक्षी र कन्काई नगरपालिकाको सिमानामा पर्ने कन्काई नदीको पुलमा आज (मंगलबार) बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको जनाएको छ। सेनाको टोलीले उक्त वस्तु हटाएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पुनः सुचारु भएको छ।
शंकास्पद वस्तु देखिए लगत्तै सुरक्षा सतर्कता अपनाउँदै राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो। केही घण्टा सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। घटनास्थलमा पुगेको सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त शंकास्पद वस्तु ‘होक्स’ अर्थात् नक्कली बम रहेको खुलेको हो। हाल अवस्था सामान्य रहेको र राजमार्गमा सवारी साधनहरू पूर्ववत् रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।









