झापा,६ फागुन।झापामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउने क्रममा विभेद भएको भन्दै कर्मचारी तहबाट असन्तुष्टि चुलिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले मतदान केन्द्रमा खटाइने कर्मचारी र शिक्षकहरूको नामावली क्षेत्रगत निर्वाचन अधिकृतका कार्यालयमा पठाएसँगै विवाद सतहमा आएको हो। निजामती कर्मचारी निकट ट्रेड युनियनहरूले संघीय र प्रदेश सेवाका कर्मचारी बीच असमान व्यवहार भएको आरोप लगाएका छन्।
संघीय निजामती सेवा ऐन अझै जारी नभएकाले संघीय तर्फ कार्यरत कर्मचारीको श्रेणी स्पष्ट नभएको र प्रदेशतर्फ ऐन लागू भइसकेकाले श्रेणी निर्धारण भएको आधारमा समान तहका कर्मचारी बीच फरक जिम्मेवारी तोकिएको गुनासो गरिएको छ। प्रदेशतर्फ छैटौँ श्रेणीका कर्मचारीलाई मतदान अधिकृत बनाइँदा संघीयतर्फ लामो समय सेवा गरेका कर्मचारीलाई सहायकमा सीमित गरिएको आरोप छ।
कर्मचारी संगठनहरूले ऐनकै कारण विभेद हुनु नहुने बताएका छन् र यस विषयमा जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय झापाको ध्यानाकर्षण गराइ सकिएको जनाएका छन्। यता निर्वाचन आयोगको निर्देशनअनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउँदा श्रेणी र क्षेत्रको स्पष्ट मापदण्ड रहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले संघीय र प्रदेश ऐनबीचको अन्तरका कारण समस्या देखिएको स्वीकार गर्दै छलफल मार्फत समाधान खोज्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनु भयो्।









