झापा, ८ फागुन । हिजो बिहिबार दिउँसो हुलहुज्जत गरी एक समूहले प्रहरी चौकी बिर्ताबजार तोडफोड गरेको प्रहरीले जनाएको छ ।
दिउँसो १ः३० बजेतिर बिर्तामोड–३ को काजी पार्टी प्यालेसमा काम गर्ने बाह्रदशी–४ का सुजन राईलाई सोही पार्टी प्यालेसका संचालक बिर्तामोड–३ बस्ने बर्ष २९ का आकाश खड्का,सोही पार्टी प्यालेसमा काम गर्दै आएको बर्ष ४० को कोमल शिवाकोटी,अर्जुनधारा ९ बस्ने बर्ष २७ का बिपिन बुढाथोकीले सामान्य विवादमा कुटपिट गरेको प्रहरीले जनाएको छ।
प्रहरीले कुटपिट गर्ने तीनैजनालाई नियन्त्रणमा लिएर प्रहरी चौकी बिर्ताबजारमा ल्याएर राखेकोमा सुजन राई पक्षका करिव ३५–४० जनाको संख्यामा उत्तेजित भीड चौकीमा आएर तोडफोड गरेका हुन् ।
उनीहरूले तोडफोड गर्दा प्रहरी चौकी बिर्ताबजारको कार्यालयको अगाडिको झ्यालको सिसा फुटेको छ भने कार्यालयको कम्पाउण्डभित्र रहेको कम्प्युटर टेवल समेत तोडफोड गरेर क्षति पु¥याएको प्रहरीले जनाएको छ् ।
कुटपिटमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ । घाइते राईको बीएण्डसी अपतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । प्रहरी चौकी तोडफोडमा संलग्न अरु फरार रहेकाले खोजतलास भइरहेको बताइएको छ । पार्टी प्यालेसका संचालक खड्काले सुधार केन्द्र पनि संचालन गर्दै आएका छन् । उनले यसअघि पनि पटकपटक त्यस किसिमको उपद्रो गर्दै आएको प्रहरीले जनाएको छ।









