मोरङ,११ फागुन। मोरङको रंगेली नगरपालिका–२ मंगलबारेस्थित एक कृषि फार्ममा सोमबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट फार्ममा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ।
टिकुमाया अधिकारीको नाममा दर्ता रहेको र जीवन अधिकारीले सञ्चालन गर्दै आएको उक्त फार्ममा बिहान ५ ः४५ बजेतिर अचानक आगो सल्किएको थियो। टिनको छानो र बाँसको टाटीबेराले बनेको भुइँतले फार्ममा लागेको आगो नियन्त्रणमा लिन दमकल र स्थानीयलाई एक घण्टाभन्दा बढी समय लागेको प्रहरीले जनाएको छ।
आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् भने त्यहाँ भण्डारण गरिएका धान, कोदो, मकै र गहुँ जस्ता खाद्यान्न पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ्। यसका साथै फार्ममा राखिएको काठपात तथा युरिया र डीएपी मल समेत जलेर ध्वस्त भएको प्रहरीले बताएको छ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।









