जनकपुर,११ फागुन। पर्साको वीरगञ्ज महानगरपालिकामा पार्किङ विवादका कारण उत्पन्न तनावले साम्प्रदायिक रूप लिएपछि स्थानीय प्रशासनले अनिश्चित कालीन कफ्र्यू आदेश जारी गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साले सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यू लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालका अनुसार पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कफ्र्यू लगाइएको हो। कफ्र्यू अवधिभर आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।
आदेश उल्लंघन गरेमा कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। प्रशासनले वीरगञ्ज महानगरपालिका भित्र पूर्वमा बासइसा रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई कफ्र्यू क्षेत्र तोकेको प्रहरीले जनाएको छ।
आइतबार राति वीरगञ्ज–११ श्रीपुर क्षेत्रमा सवारी साधन पार्किङको विषयमा सुरु भएको सामान्य विवाद दुई समुदायबीचको झडपमा परिणत भएको थियो। छिमेकबीच सुरु भएको भनिएको झगडा क्रमशः बढ्दै गएपछि आइतबार साँझ स्थिति तनावग्रस्त बनेको थियो। घटनामा केही व्यक्ति घाइतेसमेत भएको प्रहरीले बताएको छ।
सोमबार बिहान पनि पुनः प्रदर्शन र तनाव बढ्न थालेपछि स्थिति नियन्त्रण बाहिर जानसक्ने आकलन गर्दै प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ। यसैबीच सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन तथा अफवाहमा नलाग्न आग्रह गरेको छ। सुरक्षा निकायको उपस्थिति कफ्र्यू क्षेत्रमा बाक्लो बनाइएको प्रहरीले जनाएको छ।









