दमक,१४ फागुन, २०८२ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष झापाको कमल ३ का बासिन्दाले स्थानीय बाल्मिकी आश्रम र किरोतेश्वर मन्दिरको पूर्वाधार विकास गरिदिन आग्रह गरेका छन् । मतदाता भेटघाटका क्रममा बिहिबार सानोकेर्खामा पुग्दा स्थानीयबासीहरुले यि दुई स्थललाई पर्यटकीय र धार्मिक स्थलो रुपमा प्रवद्र्धन गर्न सकिने भएकाले पूर्वाधार विकासको प्राथमिकतामा राखिदिन आग्रह गरेका हुन् । बाल्मिकी आश्रम , सिमसार तथा किरातेश्वर शिव पाञ्चायन मन्दिरलाई आस्था र अवलोकनकोे क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको उनीहरुको भनाई छ ।
यस्तै स्थानीयले विद्युत प्रशारण लाईनको व्यवस्थापन, अव्यवस्थित बसोबास रहेको स्थानमा भुमि समस्या समाधान, यस्तै बाँकि रहेका पुल र सडक निर्माण पूरा गराई दिन समेत ओलीको ध्यानाकर्षण गराएका थिए ।यस्तै बिरामी रहनु भएकी चामुण्डा गौतमले बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था मिलाई दिन माग गर्नु भयो । ओलीसँगको भेटमा कमल ईसाई समाजका अध्यक्ष दिपक राईले भवन तथा दाहसंस्कारका लागि जमिनको व्यवस्था मिलाई दिन आग्रह गर्नुभयो ।
बिहिबार नै पूर्वप्रधानमन्त्री ओली कमल ५ को सिम्लेमा पुग्दा स्थानीयबासीहरुले भुमि सम्वन्धि समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सडक, विद्युत, पुल लगायतका पूर्वाधारले जनजीवन सहज बनाउन ओलीलेनै अगुवाई गर्नु भएको भन्दै स्थानीय हरिमायाँ खड्काले भुमि सम्वन्धि समस्या समाधान पनि ओलीबाटनै हुने विश्वास लिईएको बताउनुभयो ।
मतदातासँगको भेटघाटका क्रममा रहनु भएका ओली बिहिबार कमल ५ को झारवारी स्थित राधाकृष्ण तथा शिवालय मन्दिरमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा समेत पुग्नु भएको थियो ।









