दमक, २५ फागुन। नेकपा एमालेका पूर्व उपाध्यक्ष गुरु बरालले आवश्यकता अनुसार पार्टीभित्र नेतृत्व परिवर्तन गर्न सकिने बताउनुभएको छ।
आज रेडियो किङ एफको कार्यक्रम ८८“सत्य संवाद”८८मा बोल्दै उहाँले वर्तमान परिस्थितिको गम्भीर समीक्षा गरेपछि पार्टीका विभिन्न तहमा आवश्यकताअनुसार नेतृत्व परिवर्तन गर्न सकिने संकेत दिनुभएको हो।
उहाँका अनुसार, अहिले एमालेले पहिलो चरणमा चुनावी परिणामपछि उत्पन्न परिस्थितिको समग्र मूल्याङ्कन गर्नेछ। त्यसक्रममा यस्तो अवस्था किन आयो, यसको प्रभाव पार्टीभित्र र बाहिर कसरी परेको छ भन्ने विषयमा विस्तृत समीक्षा गरिने उहाँले बताउनुभयो। त्यसपछि आवश्यकता अनुसार पार्टीको विभिन्न तहमा नेतृत्व परिवर्तन हुन सक्ने उहाँको भनाइ छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा इतिहासकै कमजोर नतिजा निकालेको एमालेले सरकारमा रहेका बेला गरेका कामहरूको अनुभूति नागरिकसम्म पुर्याउन नसक्नु नै प्रमुख कमजोरी भएको नेता बरालले स्वीकार गर्नुभयो।
उहाँले भन्नुभयो, “नेकपा एमाले जनताको पार्टी हो। जनताकै मुद्दा र एजेण्डा बनाएर राज्य सञ्चालनको नेतृत्व पनि गर्यो। तर त्यसको अनुभूति नागरिकले गर्न सकेनन्। पछिल्लो समय नागरिकसँगको हाम्रो सम्पर्क पनि कमजोर बन्दै गयो।”
कार्यक्रमका क्रममा उहाँले नागरिकमा बढ्दो वितृष्णा र असन्तुष्टिले पनि अहिलेको परिणाम ल्याएको संकेत गर्नुभयो। साथै नेपालको राजनीतिक अवस्थामाथि भूराजनीतिक प्रभावसमेत परेको उहाँको भनाइ छ।
उहाँले आत्मसमीक्षा गर्दै भन्नुभयो, “हामी कहाँ–कहाँ सुधार गर्नुपर्छ भन्नेबारे गम्भीर रूपमा सोचिरहेका छौँ। जहाँ सुधार आवश्यक छ, त्यहाँ सुधार गर्न हामी तयार छौँ। तर देशको स्वाधीनता जोगाउने र नागरिकको स्वतन्त्रताको पक्षमा उभिने विषयमा एमाले सधैं अग्रपंक्तिमा रहनेछ।”









