दमक, ३० फागुन। झापाको दमक–५ मा अवस्थित धनेश्वर महादेव पाञ्चायन मन्दिर पछिल्लो समय धार्मिक आस्था र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास हुँदै गएको छ। धार्मिक वातावरण, आकर्षक संरचना र व्यवस्थित पूर्वाधारका कारण यो स्थल दमक मात्र होइन, पूर्वी नेपालकै महत्वपूर्ण धार्मिक–पर्यटकीय गन्तव्य बन्दै गएको छ।
यसै धार्मिक परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि मन्दिर परिसरमा श्रीमद् लिङ्ग महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। सदाका वर्षझैँ यस वर्ष पनि महापुराण आयोजना गरिँदैछ। आगामी चैत्र १ गतेदेखि सुरु हुने यस महायज्ञ १८ पुराणमध्ये १४औँ अनुष्ठान अन्तर्गत सञ्चालन गर्न लागिएको मन्दिर संरक्षण समितिले जनाएको छ।
धनेश्वर महादेव पाञ्चायन मन्दिरको संरचना र परिसरले यहाँ आउने भक्तजनलाई विशेष आध्यात्मिक अनुभूति दिलाउने विश्वास गरिएको छ। मन्दिरको मध्यभागमा कोशी प्रदेशकै सबैभन्दा अग्लो मानिएको भगवान् शिवको भव्य प्रतिमा निर्माण गरिएको छ। प्रतिमाको भित्रपट्टि भगवान् शिव र माता पार्वतीको आसन राखिएको छ भने बाहिरपट्टि १०८ वटा शिवलिङ्ग स्थापना गरिएका छन्। यसले मन्दिरलाई अझ आध्यात्मिक र आकर्षक बनाएको छ।
मन्दिरको पश्चिमतर्फ धनेश्वर बाबाको प्रतिमा सहितको विशाल मन्दिर निर्माण गरिएको छ। विशेषता के छ भने, यो मन्दिर पीपलको रुखको फेदलाई घेरेर बनाइएको छ। यही पीपलको फेदमा धनेश्वर बाबा साक्षात् उत्पत्ति भएको धार्मिक विश्वासका आधारमा यस स्थानलाई पवित्र स्थलका रूपमा विकास गरिएको हो।
मन्दिर परिसरको उत्तरतर्फ नाग पोखरी र आकर्षक बगैचा निर्माण गरिएको छ। शिवजीको प्रतिमाको शिरबाट पानीको फोहोरा निस्कने व्यवस्था गरिएको छ भने पोखरीभित्र माछा खेल्ने दृश्यले वातावरणलाई झनै मनमोहक बनाएको छ। साथै, बालबालिकाका लागि बाल उद्यानसहितको बगैचा बनाइएकोले यहाँ आउने परिवारका लागि पनि यो स्थल रमणीय गन्तव्य बन्दै गएको छ। यही कारण पछिल्लो समय धनेश्वर धाम धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
मन्दिरको गरिमा र धार्मिक महत्त्वलाई अझ व्यापक बनाउने उद्देश्यले तत्कालीन मन्दिर व्यवस्थापन समितिले यहाँ वर्षेनी महापुराणसहितको सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यस वर्ष १४औँ अनुष्ठान अन्तर्गत श्रीमद् लिङ्ग महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको संरक्षण समितिका सचिव एकराज लुईटेलले जानकारी दिनुभयो।
मन्दिर परिसरलाई अझ व्यवस्थित र आकर्षक बनाउने काम पनि निरन्तर भइरहेको छ। मन्दिरको पूर्व र पश्चिमतर्फ मुख्य प्रवेशद्वार निर्माण गरिएका छन्। त्यसपछि भित्रपट्टि मूल प्रवेशद्वारको संरचना पनि स्पष्ट देख्न सकिन्छ। परिसरभर लकिन्ग टायल बिछ्याइएकाले भक्तजनलाई आवतजावतमा सहजता भएको छ। आरती र पूजा गर्ने स्थान पनि छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ, जसले धार्मिक कार्यक्रम सञ्चालनलाई व्यवस्थित बनाएको छ।
यसका साथै अहिले मन्दिर परिसरमा तीन तले सामुदायिक सभाहल निर्माण भइरहेको छ। सभाहलको पहिलो तला पूर्ण रूपमा तयार भइसकेको छ भने दोस्रो तला करिब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। तेस्रो तलामा भने ट्रस्ट मात्र लगाइएको अवस्था छ। एकैपटक तीनवटा कार्यक्रम सञ्चालन गर्न सकिने क्षमता भएको यो सभाहलले भविष्यमा धार्मिक, सामाजिक तथा सामुदायिक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
यद्यपि, यहाँ हुने कार्यक्रमहरूमा सहभागीलाई पकाएर खुवाउनका लागि सुरक्षित पाकघरको अभाव भने अझै देखिएको छ। यही पाकघर निर्माण गर्ने र अन्य अधुरा संरचना पूरा गर्ने उद्देश्यले यस वर्षको लिङ्ग महापुराण महायज्ञबाट सहयोग जुट्ने विश्वास गरिएको संरक्षण समितिका अध्यक्ष रुद्र कार्कीले बताउनुभयो।
महायज्ञ अन्तर्गत चैत्र १ गते बिहान ११ बजे कलश यात्रा सुरु हुनेछ। सोही दिन महापुराणको औपचारिक उद्घाटन पनि गरिने कार्यक्रम रहेको छ। महायज्ञ अवधिभर दैनिक पूजा–पाठ, कथा वाचन, धार्मिक प्रवचन तथा साँझमा विभिन्न झाँकीसहित संगीतमय भजन–कीर्तन कार्यक्रम आयोजना गरिने जनाइएको छ।
यस महायज्ञमा प्रसिद्ध कथावाचक पण्डित भागवत भूषण उदयनाथ शास्त्रीले कथा वाचन गर्नुहुनेछ भने मूल पाठ पारायण पण्डित मनीष पोखरेलले गर्नुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
धार्मिक आस्था, आकर्षक संरचना र निरन्तर भइरहेका पूर्वाधार विकासका कारण धनेश्वर धाम अहिले दमक क्षेत्रको मात्र होइन, समग्र पूर्वी नेपालकै एक महत्वपूर्ण धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको देखिन्छ। यहाँ आयोजना हुने महापुराण महायज्ञले यस स्थलको धार्मिक गरिमा अझ उचाइमा पुर्याउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।









