दमक | २ चैत्र । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी सोमबार महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।
जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी महाकाली नगरपालिका–५ स्थित बसपार्क नजिकै साथीहरूसँग पौडी खेल्न गएका बेला नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
उनीसँगै गएका दुई जना साथी भने सकुशल रहेका छन्। धामी खलङ्गास्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।
घटनापछि प्रहरी र स्थानीयको सहयोगमा नदी क्षेत्रमा उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।









