दमक | २ चैत्र । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।
सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी सोमबार महाकाली नगरपालिका–५ स्थित बसपार्क नजिकै साथीहरूसँग पौडी खेल्न गएका थिए। सोही क्रममा उनी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
उनीसँगै गएका अन्य दुई साथी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।
धामी महेन्द्र माध्यमिक विद्यालय, खलङ्गामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्। घटनापछि प्रहरीसहित स्थानीयले उनको खोजी कार्य जारी राखेका छन्।









